‘डायवेटिक रेटिनोप्याथी’बाट जोगिऔँ भन्दै तिलगंगाको प्रभातफेरी (फोटो फिचर)

काठमाडौँ, ३० कात्तिक । डायवेटिक रेटिनोप्याथी दिवसको सन्दर्भ पारेर तिलगंगा आँखा प्रतिष्ठानले शनिबार विहान बृहत जनचेतनामुलक प्रभातफेरी निकालेको छ ।

विहान साढे ७ बजे निकालिएको सो प्रभात फेरीमा सहभागीहरुले मधुमेहले आँखामा गर्ने असरका बारेमा चेतना जगाउने खालका प्लेकार्ड बोकेका थिए । उनीहरुले मधुमेह पत्ता लाग्नासाथ तत्काल आँखा परीक्षण गराउनु भनेर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिष्ठानले गत २४ कात्तिक देखि आजसम्म सप्ताहव्यापी रुपमा मधुमेहको आँखामा असर सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरी दिवस मनाएको छ ।

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसार भर ४२ करोड ५० लाख मानिस मधुमेह बाट ग्रसित छन् । अन्धो पना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मृगौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ ।

हरेक तीन मध्य एकजना मधुमेहका बिरामीमा आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारले दृष्टी मा क्षति ब्यहोर्नु पर्ने हुन्छ ।

मधुमेह लागेका ब्यक्तिमा ह्रदय रोगको जोखीम सामान्य मानिसमा भन्दा तिनगुना बढी हुन्छ । मृगौलाले काम नगर्ने जोखीम मधुमेहका विरामीमा १० गुना बढी हुन्छ । संसारभर प्रत्यक ३० सेकेन्डमा कुनै एक मधुमेही ब्यक्ति ले आफ्नो खुट्टा गुमाई रहेका छन् ।

मधुमेह रोग आफैमा जति सम्बेदनशिल छ यो रोगको दुरगामी असर न्यूनिकरणका लागि धेरै पहल गर्न सकिन्छ । जस्तो कि दोश्रो प्रकारको मेधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परिक्षण, तनाव व्यवस्थापन र औषधोउपचारका माध्यम बाट सजिलै ५०% भन्दा बढिमा रोकथाम गर्न सकिन्छ । त्यसैले, हरेक परिवारको मधुमेह व्यवस्थापन, रोकथाम तथा शिक्षा प्रतिको भुमिकालाई व्यापक बनाउने अभियान अनुरुप यस बर्ष ‘मधुमेह बाट परिवारलाई सुरक्षित गरौं ’ भन्ने नाराका साथ विश्व भर मनाईदै छ ।

डायवेटिक रेटिनेप्याथी मधुमेहको जटिलता मध्य एक प्रमुख अवस्था हो । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिव सबै र दोश्रो प्रकारको मधुमेहमा करिव २ तिहाई विरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ ।

मधुमेहि विरामीमा आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिन सक्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुन सक्छ जति वेला उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ । मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ ।

संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाईएको छ ।

मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोप्याथी” सम्बन्धि जनचेतना जगाउनका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोप्याथी दिवस” मनाउदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *