सूर्तिजन्य पदार्थमा ९० प्रतिशत चित्र : कानून बन्यो पाँच बर्ष अघि कार्यान्वयनमा झन् अटेरी

काठमाडौँ, २७ कात्तिक ।  सूर्तिजन्य पदार्थको प्याकेटको कुल भागमध्ये ९० प्रतिशत भाग चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देशले ओगटनु पर्छ भन्ने नियम पारित भएको ठ्याक्कै पाँच बर्ष  पुगी आज दुई साता नाघ्यो । तर यसको प्रभावकारी कार्यान्वयन अझै हुन सकेको छैन् ।

तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीको पहलमा २०७१ कात्तिक १३ गते सूर्तिन्जय पदार्थ (नियन्त्रण तथा नियमन ऐन) २०६८ को दफा ९ बमोजिम पुरानो निर्देशिका संसोधन गर्दै सूर्तिजन्य पदार्थको बट्टा प्याकेट रयापर्स पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०७१ आएको थियो ।

सो निर्देशिका अनुसार १ जेठ २०७२ देखि बजारमा जाने हरेक सूर्तिजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भाग चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देशले छोपिनु पर्ने व्यवस्था छ । तर त्यसको पूर्ण कार्यान्वयन अझैसम्म हुन् सकेको छैन । केही विदेशी चुरोट कम्पनीले निर्देशिका अनुसार ९० प्रतिशत चित्र छापे पनि नेपालकै प्रमुख उत्पादक कम्पनी सूर्य नेपालले त्यसको अटेरी गर्दै आइरहेको छ ।

कानून अनुसार होइन व्यक्तिको स्वभाव अनुसार गतिविधि

कानून बनाए पछि त्यसको कार्यान्वयन गर्ने दायित्व पनि सरकारकै हो तर सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने यो कानून बनाएर राजपत्रमा निस्किएको छ बर्ष पुगिसक्दा समेत पूर्ण कार्यान्वनय भएको छैन ।

सरोकारवालाहरुले कानून कार्यान्वयन गर्ने अधिकारीहरु सूर्ति उद्योगीको प्रलोभनमा परेकै कारण यो अवस्था आएको बताउँछन् । ‘खासमा सरकारले बनाएको कानून अनुसार यो व्यवस्था लागू हुनु पर्ने हो तर जिम्मेवारीमा आएका अधिकारीहरुको स्वभाव अनुसार यसका गतिविधि हुने गरेको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

हुन पनि तत्कालिन स्वास्थ्य मन्त्री खगराजका पालामा सूर्ति नियन्त्रण सम्वन्धी गतिविधिले निकै तिब्रता पाएको थियो । तत्कालिन स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ, महानगरीय प्रहरी परिसर काठमाडौँका तत्कालिन एसपी विक्रम सिंह थापा, काठमाडौँका तत्कालिन सिडिओ रामकृष्ण सुवेदीको भूमिका निकै सकारात्मक थियो । तर त्यसपछि स्वास्थ्यमा आएका मन्त्री रामजनम चौधरीले कानून कार्यान्वयन होइन उल्टाउने प्रयास गरे । अहिले मन्त्रालयको जिम्मा सम्हालेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा. सुरेन्द्र यादव सूर्ति नियन्त्रण सम्वन्धी कानून कार्यान्वयनमा त्यति चासो गरेका छैनन् ।

‘डन’ बन्यो सूर्य नेपाल

नेपालकै प्रमुख सूर्ति उत्पादक कम्पनी सूर्य नेपाल प्रालिले सरकारी नियमको पालना गर्दै नगरी बसेको छ । बरु उसले एक पछि अर्को गर्दै सर्बोच्चमा मुद्धा हालेर सो केशलाई अडकाई राखेको छ ।

सर्बोच्चमा मुद्धा परे पनि कानून कार्यान्वनय गर्न रोकिएको छैन । तर सरकारी अधिकारीहरुले त्यहि निहूँ देखाई कार्यान्वयन प्रक्रिया अघि बढाउनबाट पछि हटेका छन् ।

सरकारले कडाईका रुपमा प्रस्तुत हुँदा विदेशी ब्राण्डका चुरोटहरुमा ९० प्रतिशत चित्र छापिएको थियो । तर सरकारी अधिकारीहरुलाई नै प्रभावमा पार्न सफल सूर्य नेपाल भने अहिलेसम्म अटेरी गर्दै आएको छ ।

सूर्ति नियन्त्रण सम्वन्धी कानून कार्यान्वयनको शुरु देखि नै निगरानी गर्दै आएको नेपाली हेल्थ अनलाईनले यस सम्वन्धी धेरै समाचार प्रकाशित गरेको छ । ती समाचारहरुले सूर्ति नियन्त्रण सम्वन्धी कानून कुन बेला क्रियाशिल र कुन बेला निस्कृय भयो भन्ने समेत स्पष्ट देखाएको छ ।

हेरौँ तस्विरमा समाचारका शीर्षक

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *