‘प्रधानमन्त्रीको स्वास्थ्यको प्यारामिटर अहिले राम्रो देखिएको छ’

यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीको ग्राण्डी अस्पतालमा उपचार भयो । त्यहाँ उनको दुई पटक हेमोडायालसिस गरियो । त्यसपछि बालुवाटार फर्किएका उनको दुई दिन पछि पुन महाराजगञ्जस्थित मनमोहन सेन्टर पुगेर स्वास्थ्य परीक्षण गरियो । त्यसबीचमा प्रधानमन्त्री ओलीको स्वास्थ्य जटिल बनेको, नियमित डायलासिस गर्नुपर्ने, प्रत्यारोपण नै गनुपर्ने, त्यसको तयारी भइसकेका आदि इत्यादि समाचार सार्वजनिक भए तर उनको उपचारमा सम्लग्न मेडिकल टिमले त्यसबारेमा खुलेर कुरा गरेन । यसले अडकलबाजी गर्नेहरुका लागि थप बल पुग्यो । आज हामीले यहि सन्दर्भ पारेर उपचार टोलीका एकजना सदस्य प्राडा अरुण सायमीसंग छोटो कुराकानी गरेका थियौँ । प्रस्तुत छ कुराकानीको सार संक्षेप :

हेमोडायलासिस पछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ?
अहिले राम्रो छ । डायलासिस पछि सामान्य कम्लिकेशन जस्तो देखिएको थियो तर त्यो पनि ठिक भयो । अहिले हेल्थका प्यारामिटर राम्रो छ ।

डायलासिस पछि कस्तो कम्लिकेशन भयो भन्नु भएको ?

डायलासिस पछि उहाँको फोक्सोमा पानी जमेको जस्तो देखिएको थियो । दुई दिन पछि हामीले फोक्सोको पानी झिक्न भन्दै महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक अस्पताल लग्यौँ । त्यहाँ गएर एक्सरे गर्दा निको भइसकेको पाइयो । त्यसपछि केही गर्न परेन । अर्को कुरा के भने यो त्यति नौलो अवस्था पनि होइन । १२ बर्ष पछि हेमोडायलासिस गर्दा कहिलेकाँही यस्ता कम्प्लिकेशन आउन सक्छ पनि । हामीले त्यस्तो हुनसक्छ भनेर पहिले तयारी नै थियौँ पनि । त्यसैले त्यो उपचार पनि नियमित अन्तरगर्त नै पर्दथ्यो ।

ग्राण्डी पछि डायलासिस गर्न परेको छैन नि ? अब डायलासिस गर्न पर्छ कि पर्दैन ?
ग्राण्डी पछि डायलासिस गरिएको छैन । हेल्थका प्यारामिटर राम्रै देखिएको छ । अब यसैले रिकभर हुन पनि सक्छ । तर मैले दावी गर्न सक्दिन । फेरी मिर्गौला विशेषज्ञ पनि होइन म । ग्रुपमा भएको छलफलको आधारमा मैले यो भनेको हुँ । त्यसैले हामी अहिले पनि पर्ख र हेरको अवस्थामा छौँ । फेरी प्रधानमन्त्रीको नियमित डायलासिस गर्नुपरे पनि वा प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आएपनि त्यसको तयारीमा हामी छौँ ।

प्रधानमन्त्रीको डायलासिसका लागि बालुवाटारमै मेसिन राख्ने सुझाव दिएको समाचार पनि आएको थियो ? खास कुरा के हो ?
त्यो पनि एउटा अव्सन हो । कुरा भएको थियो । फेरी डायलासिस दुई किसिमको हुन्छ । हेमोडायलासि र पेरिटोनियल डायलासिस । हामीले नियमित गर्न परे पेरिटोनियल डायलासिस गर्ने कि भन्ने बारेमा पनि अव्सन राखेका छौँ । उहाँको स्वास्थ्य उपचारका लागि सहज कसरी हुनसक्छ भनेर हामीले विभिन्न अव्सन राख्ने गरेका छौँ ।

प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणका लागि अब छिट्टै सिंगापुर लगिदैछ, अंग दिने मान्छे लगिसकियो भन्ने पनि समाचार आएको छ नि, त्यो के हो ?

मलाई लाग्छ अहिले त्यस्तो योजना छैन । लैजानै पर्ने अवस्था आयो भने त भिन्नै कुरा । अंगदिने मान्छे सिंगापुर लगिसकेको भन्ने कुरामा पनि म सत्यता देख्दिन । बरु हामीले यसअघि प्लाज्मा फोरोसिस गर्ने बेलामा प्रत्यारोपण नै गर्नु पर्ने हो कि भनेर दाता तयार गरेर भने राखेका थियौँ । किनभने तत्काल नै चाहियो भने त दाँता पनि तयारी अवस्थामा त हुनुपरयो नि । त्यो तयारीमा त चिकित्सक टोली अहिले पनि छ । यो स्वभाविक हो ।

तपाईँको कुराले प्रधानमन्त्रीको स्वास्थ्य ढुक्क हुने अवस्थामा अहिले पनि छैन् ?
यो त सबैलाई थाहा भएको कुरा हो । स्वास्थ्य अवस्था कसको हुन्छ ढुक्क ? तपाईँको छ ? मेरो छ ? ढुक्क त कसैको हुँदैन त । अझ प्रधानमन्त्री त १२ बर्ष अघि मिर्गौला प्रत्यारोपण गरेको मान्छे । उहाँको हेल्थको प्यारामिटर अरु सामान्य मानिसको भन्दा केही जटिल त पहिले देखि नै छ नि । तर पनि केहो भने अहिले उहाँको अवस्था सोचेभन्दा निकै राम्रो छ । उहाँको खटाई बढी छ । हामीले आराम गर्नुस भनिरहेका छौँ । तर उहाँको बानी आराम गरेर बस्ने खालको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *