शल्यक्रिया पछि फेरिएकी ज्योति……

काठमाडौँ, २० कात्तिक । करीव तीन महिना पहिलेको कुरा हो, नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका हेड एण्ड निक सर्जन डा प्रभात चन्द्र ठाकुरले सामाजिक सञ्जालमा एउटा कारुणिक तस्बिर देखे ।

एउटा भर्खरकी किशोरीको मुखमा ठूलो ट्युमर झुल्लिएको छ जसका कारण उनी न खान सक्छिन् न त बोल्न नै । त्यहाँ लेखिएको थियो आर्थिक अभावका कारण राम्ररी उपचार हुन समेत सकेको छैन ।

यस्तै केशहरुको उपचार गर्ने डा ठाकुरको मन सो तस्बिरले उध्यलित बनाइदियो । उनले मनमनै सोचे एक पटक ती किशोरीलाई भेटन पाए उपचारको बारेमा केही गर्न सकिन्थ्यो कि ?

………………………………………………………………….

करीब एक महिना पछि उनले सोचे जस्तै भयो । सहकर्मी साथी डा प्रविण जैसवालको सम्पर्कबाट ती किशोरीलाई भेटन पाए । उनी रहिछिन् १९ बर्षीया ज्योति राई । ‘घर ठ्याक्कै याद भएन पूर्व तिर हो सायद,’ ती किशोरीको बारेमा उनले कुरा सुनाउन थाले ।

‘ओ हो हामीले भेट्दा त ज्योति निकै गलिसकेकी थिइन । अनुहार पुरै विग्रिएको थियो । थकित र कमजोर देखिन्थिन,’ डा. प्रभातले सुनाए ।

नहुन पनि किन, पहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्न गएकी ज्योतिलाई अस्पतालले सन्चो हुन गाह्रो हुने भन्दै फर्काइदियो । त्यसपछि भक्तपुर क्यान्सर अस्पताल आइन त्यहाँ पनि उही कुरा । त्यसपछि राम्रो उपचार हुने सुनेर उनी धुलिखेल अस्पताल पुगिन तर त्यहाँ पनि ट्युमर ठूलो भएको भन्दै शल्यक्रिया गर्न मानेन् । बरु उसले सुझाव दियो केही साइकल किमो चलाइयो भने ट्युमर घटन पनि सक्छ र उपचार गर्न सहज हुनसक्छ । धुलिखेलका डाक्टर सुझाव लिएर उनी काठमाडौँ क्यान्सर सेन्टरबाट किमो चडाउन सुरु गरिन ।
………………………………………………….

ज्योतिको घर परिवार विपन्न छ । हुर्केकी छोरीमा डरलाग्दो समस्या देखा पर्यो । केहीले सामाजिक सञ्जालमा उनको तस्बिर पोष्ट गरेपछि बेलायती सेनामा कार्यरत एक जना युवा ओम गुरुङ सहयोगी भएर निस्किए । ‘उनले ज्योतिको उपचार गर्न खर्च जुटाउन अभियान नै छेडे । उनै ओमले डा प्रविणसंग भेटेछन् र त्यो केश म कहाँ आईपुगेको हो,’  डा. प्रभातले  भने ।

धेरै वटा अस्पतालमा गएर धेरै परीक्षण समेत गरिसकेकी ज्योतिको रिपोर्ट हेरेपछि थाह भयो उनलाई ‘माण्डेवल ओस्टियोसर्कोमा’ भएको रहेछ । त्यो भनेको तल्लो भागको दाँत रहने हड्डीबाट पलाएको ट्युमर ।

‘मैले थप परीक्षण पछि निस्कर्ष निकाले शल्यक्रिया गर्नुपर्छ । हामी राम्रोसंग गर्छौैँ । उनीहरुले हुन्छ भने । तर यत्तिकै शल्यक्रिया गर्ने अवस्था थिएन । किनकी उनी निकै कमजोर थिइन । दशैँ अघि हामीले उनलाई भर्ना लियौँ । १० दिन जति बलियो पौष्टिक तथा प्रोटिन आहार दियौँ ता कि उनी बलियो हुन् भनेर । त्यसपछि शल्यक्रिया गरयौँ । ४८० ग्रामको ट्युमर हटाइयो । अहिले उनी बोल्न मुखबाट सजिलै खान सक्छिन् र बोल्न सक्छिन् ।,’ उनले अस्पतालमा आए देखि उपचार सक्काएको सम्मको कुरा यसरी सुनाए ।

डा. प्रभातले  शल्यक्रियाका लागि आफूले नेतृत्वको लिएपनि डा प्रविण संगै प्लास्टीक एण्ड रिकन्स्टस्टिभ टीमका डा सुरेन्द्र बस्नेत, डा कृष्ण नगरकोटी डा सुदीप सहित नेपाल क्यान्सर अस्पतालको सम्पूर्ण ओटी टीमको महत्वपूर्ण सहयोग रहेको भन्न पनि छुटाएनन् ।

………………………………………………………………

यो शल्यक्रिया निकै जटिलमध्येको एक हो । ट्युमर हटाउँदा मुखको तल्लो भागको दाँत रहने भाग ‘ज’ नै दुई तिहाई फालिएको छ । त्यसमा खुट्टाबाट हड्डिको पुनर्निमाण अर्थात ‘भास्कुलराइज्ड फ्रि फाइवुला फ्ल्याप’ गरियो,’ त्यसले घाउ चाँडै निको समेत भयो ।

केही दिनको आरामपछि ज्योति अहिले डिस्चार्ज भएकी छन् । डिस्चार्ज हुने बेलामा हामीले सोधेका थियौँ,  सुरुमा तिमी के गर्न चाहन्छौँ ? उनले भनेकी थिइन  ‘म गाँउ जान चाहन्छु र ती सबै गाउलेलाई भेट्न चाहन्छु जसले मलाई अब यो मर्छे भनेका थिए ।’

डा. डा. प्रभातका अनुसार उनको ट्युमर स्टेज फोरमा पुगिसकेको अवस्था हो । त्यसैले अहिल्यै ढुक्क हुने अवस्था भने छैन । ‘अहिले बायोप्सी रिपोर्ट हेर्दा ठिक छ । तर यसले अरु अंगमा सर्ने सम्भावना रहन्छ । त्यसो नहोस भन्नका लागि हामीले अब केही दिन पछि उनलाई फेरी किमो चलाउने निधो गरेका छौँ ,’  डा ठाकुरले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *