‘टाइप -३’ पोलियो भाइरस संसारबाट उन्मुलन

काठमाडौँ, १८ कात्तिक ।  विश्व स्वास्थ्य संगठनले ‘वाइल्ड पोलियो भाइरस टाइप – ३’ संसारबाट उन्मुलन भएको घोषणा गरेको छ । पोलियो गराउने तीनवटा भाईरसमध्येको एक टाइप – २ सन् २०१५ मै उन्मुलन भएको घोषणा गरिएको थियो । अब उन्मुलन हुन टाइप – १ मात्रै बाँकी छ ।

पाकिस्तान र अफगानिस्थान केही केस देखा परिरहेका कारण टाइप – १ भाइरस उन्मुलन हुन नसकेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा. झलक गौतमले टाइप २ पछि टाइप – ३ पोलियो उन्मुलन भएको बताए । तर टाइप – १ को केही केसहरु केही देशमा देखिएका कारण पोलियो पूर्ण रुपमा उन्मुलन भने भईनसकेको जानकारी दिए ।

पाकिस्तान र अफगानिस्तानमा अझै देखिदैछ पोलियो भाइरस
पाकिस्तान र अफगानिस्तानमा वाइल्ड पोलियो भाइरस टाइप -१ अझ देखा परिरहेको छ । यहि कारणले विश्व स्वास्थ्य संगठनले संसारबाट पूर्ण रुपमा पोलियो उन्मुलन भयो भनेर घोषणा गर्न सकेको छैन ।

गत १३ अक्टोवरमा मात्रै पाकिस्तानको ख्यावेर पाख्तुन्खा प्रान्तको लक्कि मारवात भन्ने ठाँउमा वाइल्ड पोलियो भाइरस टाइप -१ को नयाँ केश देखा परेको छ । यो संगै पाकिस्तानमा सन् २०१९ मा टाइप -१ भाइरस ७७ जनामा देखा परिसकेको छ । सन् २०१८ मा भने यस टाइपको भाइरस १२ वटा केश मात्रै फेला परेको थियो ।

उता अफगानिस्थानमा गत १७ अगस्तमा वाइल्ड पोलियो भाईरस टाइप-१ को पछिल्लो केश भेटिएको छ । कान्दाहार प्रान्तमा भेटिएको यो केशसंगै सन् २०१९ मा टाइप-१ भाइरस १९ जनामा देखिएको छ । सन् २०१८मा यो भाइरस २१ जनामा देखिएको थियो ।

नाइजेरियामा देखियो भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप -२
अफ्रिकी मुलुक नाइजेरियामा अहिले खोपका कारण देखिएका पोलियो भाइरस भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप २ देखा परिरहेको छ । त्यहाँ पछिल्लो पटक २० जुन २०१९ मा भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप २ को नयाँ केश देखा परेको हो ।

‘यो वाइल्ड भाइरस जस्तो होइन । खोपका कारण उत्पन्न भएको भाइरस हो । त्यसैले यसलाई फेरी टाइप -२ देखियो  भन्न मिल्दैन,’ खोप शाखा प्रमुख डा गौतमले अगाडी थपे, ‘यस्तो केश पनि नदेखियोस भनेर नेपालमा हामीले पोलियो थोपा बाहेक एफआईपीभी खोप दिने गरेका छौँ ।’

पोलियो खोप बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा दिइने गरिन्छ । एफआईपिभी खोप ६ र १४ हप्तामा दिइने गरिन्छ ।

‘पोलियो उन्मुलनको नजिक नजिक पुग्न लागेको भन्दै विश्व स्वास्थ्य संगठनले पोलियो इन्ड ग्याम स्टाटेजी शुरु गरेको थियो । जसमा अब मुखबाट खुवाएर मात्रै हुँदैन खोप पनि दिनु पर्छ भन्ने उदेश्य थियो । त्यसैले अहिले हामीले अहिले एफआईपीभी खोप दिन्छौँ जसमा वाइल्ड पोलियो भाइरस टाइप१,२ र ३ विरुद्ध नै प्रयोग हुन्छ । तर मुखबाट खुवाउने थोपा वीओपीभीमा भने वाइल्ड पोलियो भाइरस टाइप १ र ३ बिरुद्ध प्रयोग हुने तत्व राखिएको हुन्छ,’ डा गौतमले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *