न्याम्सले स्थगित गरेको पीजी तहको प्रवेश परीक्षा ९ कात्तिकमा हुने

काठमाडौँ, ५ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले यसअघि स्थगित गरेको एमडी/एमएस/एमडीएस तहको प्रवेश परीक्षा आगामी ९ कात्तिक शनिबार गर्ने भएको छ । न्याम्सले हिजो (सोमबार) सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।

यसअघि न्याम्सले गत शनिबार (२ कात्तिक)का लागि तय भएको परीक्षा एक दिन अघि स्थगित गरेको थियो ।
त्यसबेला न्याम्सले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार परीक्षा स्थगित गरेको जनाएको थियो ।

एक जना परीक्षार्थीका लागि परीक्षा स्थगित ?
न्याम्स स्रोतका प्रवेश परीक्षाको फारम भरी विदेश भ्रमणमा निस्किएका एक जना विद्यार्थीको परीक्षा छुट्ने भएपछि परीक्षा रोकिएको हो । ‘उनी मन्त्रीका मान्छे थिए । मन्त्रीले पनि आफ्नो पावर देखाए । अब ती व्यक्ति नेपाल फर्किने निश्चत भएपछि परीक्षाको नयाँ मिति सार्वजनिक भयो,’ न्याम्सको उच्च स्रोतले भन्यो ।

स्वास्थ्य मन्त्रालयले न्याम्सलाई पठाएको चिठीमा २ कात्तिकमा परीक्षा भए धेरै जना चिकित्सक उपस्थित हुन नसक्ने भएकाले सार्न भनिएको थियो । तर एक दिन अघिसम्म डीन कार्यालयमा एक जना पनि परीक्षार्थीले उपस्थित हुन नसक्ने भनेर सूचीत गरेको थिएन ।

‘फारम भर्ने सबैलाई परीक्षाको बारेमा एसएमएस गरिन्छ । कसैले पनि सो मितिमा अफ्टेरो भएको भनेका थिएनन् । सबै परीक्षाका लागि काठमाडौँ आईसकेका पनि थिए,’ न्याम्स स्रोतले भन्यो, ‘तर परीक्षा एकाएक स्थगित गरियो । यसमा सहकुलपति रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उपकुलपति डीएन साहलाई कठपुतली बनाए । परीक्षा सार्ने बेलामा उपकुलपति साह देश बाहिर भएपनि उनकै सल्लाहमा सारिएको थियो ।’

त्यसो त न्याम्सले परीक्षा सार्ने निर्णय गर्नासाथ परीक्षार्थीहरु त्यसदिन मन्त्रालय घेराउ गर्न पुगेका थिए ।

कति छ कोटा ?

नेपाल मेडिकल काउन्सिलले यस बर्ष एमडी एमएसतर्फ ११५ र डिएम/एमसीएचतर्फ २१ सिट निर्धारण गरेको छ । जसमा एमडीरएमडीएमएसतर्फ एनेस्थेसियामा १५, डर्माटोलोजीमा २, इएनटीमा ४, इन्टरनल मेडिसिनमा १५, गाइनोकोलोजीमा १४, अप्थोमोलोजीमा १७, अर्थोपेडिक्समा ८ सिट दिएको छ ।

त्यसैगरी पेड्रियाटिक्समा ११, साइक्याट्रिकमा १, प्थाथोलोजीमा ३, एमडिजिपीमा ३, रेडियोलोजीमा ६, रेडिएसन अंकोलोजीमा २ र जनरल सर्जरीमा १४ सिट निर्धारण गरेको छ । डिएममा कार्डोलोजीमा ३, गास्ट्रो इन्ट्रोलोजीमा ३, हेपोटोलोजीमा २, मेडिकल अंकोलोजीमा २, नेफ्रोलोजीमा २ सिट निर्धारण गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *