कार्यविधि स्वीकृत नहुँदा संघीय सरकारको ‘स्कुल हेल्थ’ कार्यक्रम रोकियो
काठमाडौँ, १५ असोज । कार्यविधि स्वीकृत हुन ढिलाई हुँदा संघीय सरकारले शुरु गर्न लागेको स्कुल हेल्थ कार्यक्रम सञ्चालनमा आउन सकेको छैन ।
चालु आर्थिक बर्षको बजेटमा आएको स्कुल हेल्थ कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले यसअघि नै कार्यविधि बनाई स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएको थियो । यो कार्यविधि स्वीकृत हुनासाथ यसबर्ष ३० वटा विद्यालयमा स्कुल नर्स राखिने छ ।
प्रदेशस्तरमा ३ नम्बर र १ नम्बरले शुरु गरिसकेका छन् । र यसको नतिजा पनि निकै राम्रो आएको छ ।
महाशाखा प्रमुख रोशनी लक्ष्मी तुईतुईले अगाडी थपिन्, ‘हामीले स्थानीय निकायसंग समन्वय गरी संघीय लेभलबाट यो कार्यक्रम शुरु गर्न लागेका हौँ ।’
यस कार्यक्रमका लागि सरकारले गत बजेटमै तीन करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।
‘कुल जनसंख्याको ३४ प्रतिशत जनता विद्यालयमा हुने रहेछन् । तर उनीहरुका लागि स्वास्थ्यका लागि खासमा केही पनि तयारी छैन । विशेषगरी विद्यालय तहका किशोर किशोरीको समस्या पहिचान गर्ने समेत उपयुक्त व्यक्ति नहुँदा बेलाबखतमा दुखत खबर समेत सुन्नु परेको छ । त्यसैलाई निराकरण गर्न यो कार्यक्रम अघि सारिएको हो,’ महाशाखाका निर्देशक तुईतुईले भनिन् ।
स्कुल हेल्थ कार्यक्रम लागू भएका विद्यालयमा नियुक्त हुने नर्सले प्रत्येक विद्यार्थी तथा शिक्षकको हेल्थ प्रोफाइल राख्नुपर्ने छ । यस्तै छ छ महिनामा हेल्थ स्क्रनिङ, साइको सोसियल काउन्सिल गर्नेछिन् । यस्तै सो कार्यक्रम लागू भएका विद्यालयले स्वस्थ जीवनशैली र खानपानमा समेत ध्यान दिनुपर्ने बताइएको छ ।
‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि – २०७६’ नाम दिइएको कार्यविधि स्वीकृत हुनासाथ विद्यालय छनौट गरी यसैबर्षबाट यो कार्यक्रम लागू हुन्छ, तुईतुईले अन्तमा भनिन् ।
यही मोडलको कार्यक्रममा प्रदेश नं १ मा ५४ वटा विद्यालयमा र प्रदेश नं ३ मा १२१ वटा विद्यालयमा लागू भईसकेको छ । कार्यक्रम अन्तरगर्त प्रत्येक विद्यालयमा कम्तीमा पिसिएल उत्तीर्ण नर्स नियुक्त हुने व्यवस्था छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



