पीजी अध्यापनका लागि पोखराले पायो सिट, कर्णालीको रोकियो

काठमाडौँ, १३ असोज ।  नेपाल मेडिकल काउन्सिलको सिफारिस बमोजिम चिकित्सा शिक्षा आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह (पीजी) अध्यापनका लागि बाटो खोलिदिएको छ । तर काउन्सिलकै सिफारिसमा परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भने ‘थप अध्ययन गर्नु पर्ने’ भन्दै रोकेको छ ।

आयोगको गत १ असोजमा बसेको बैठकले काउन्सिलको सिफारिस बमोजिम पोखरालाई स्नातकोत्तर तर्फ विभिन्न विषयमा १७ सिट दिने निर्णय गरेको छ । तर काउन्सिलबाट एमडीजीपी तर्फ तीनका लागि सिफारिस भएको कर्णालीलाई भने थप अध्ययन पछि मात्रै निर्णय गर्ने आयोगले बताएको छ ।

आयोगका प्रवक्ता डा हरि लम्साल भन्छन्, ‘पोखराको हकमा काउन्सिलको सिफारिस अनुसार नै भयो । तर कर्णालीको हकमा थप अध्ययन गर्नुपर्ने देखियो । त्यसैले संगै निर्णय हुन सकेन ।’

उनले अब छिटै कर्णालीमा अर्को विज्ञ टोली पठाई अध्ययन् गर्ने र त्यसले दिएको सुझावको आधारमा सिट सम्वन्धी निर्णय हुने बताए ।

यसअघि ५ असारमा नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर अध्यापनको संगै सिट संख्या तोकेको थियो ।

काउन्सिलले कर्णालीका लागि एमडीजीपीतर्फ ३ सिट अध्यापन गराउन अनुमति थियो । पोखरालाई भने इन्टरनल मेडिसिनमा २, सर्जरीमा ४, प्रसूति तथा स्त्री रोगमा ४, पेडियाट्रीक्समा २, एनेस्थेसियामा २, अर्थोपेडिक्समा ३ सिट गरी १७ सिट दिन सिफारिस गरेको थियो । सो निर्णयलाई काउन्सिलले नीतिगत स्विकृतीको लागि चिकित्सा शिक्षा आयोगमा पठाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *