औषधि उत्पादक संघको अध्यक्षमा क्षेत्री र पाण्डेद्धारा उम्मेद्धारी घोषणा
काठमाडौँ, १३ असोज । नेपाल औषधि उत्पादक संघ (एपोन) नयाँ नेतृत्व छनौटका लागि आगामी २९ असोजका लागि निर्वाचन तय भएको छ । नयाँ नेतृत्वका लागि बरिष्ठ उपाध्यक्ष जी नारायणबहादुर क्षेत्री र महासचिव प्रज्वलजंग पाण्डेले उम्मेद्धारी दिने सार्वजनिक रुपमा घोषणा गरेका छन् । यद्धपी विगतमा जस्तै अन्तिम समयमा सहमतिमा नेतृत्वको टृुंगो लाग्ने सम्भावना भने जिवितै रहेको छ ।
अहिले बरिष्ठ उपाध्यक्ष रहेका क्षेत्रीले रोलक्रम अनुसार नै आफू अध्यक्षको हकदार र दावेदार भएको बताउँछन् । उता अहिले महासचिवको कार्यभार सम्हालेका पाण्डेले पदका लागि भन्दा पनि नेपाली औषधि उद्योगलाई नयाँ उचाईँमा पु–याउने योजनाका साथ आफू अध्यक्षमा उम्मेद्धारी दिन लागेको बताएका छन् ।
अध्यक्षका दावेदारी प्रस्तुत गरेका दुबैजनाको मुख्य एजेण्डा समान छ । संघलाई मजबुत बनाउने र एकता कायम गर्ने । अनुभवको आधारमा पनि दुबैजना लगभग उस्तै देखिन्छन् । ‘म त बीस बर्ष जति भयो कार्यसमितिमा आएको । शंकर घिमिरेको पालामा बाहेक हरेक जसो कार्यसमितिमा कुनै न कुनै भूमिकामा रहेकै छु । सदस्य, सहसचिव, महासचिव हुँदै बरिष्ठ उपाध्यक्षसम्म आईपुगेको छु । अब मेरो पालो अध्यक्ष बन्ने हो,’ क्षेत्रीको तर्क छ ।
यता पाण्डेको दावी पनि फरक छैन । ‘दुई कार्यकाल सदस्यमा रहेँ, त्यसपछि कोषाध्यक्ष बने, अहिले महासचिव छु । अब पालो अध्यक्षमा उठनु हो । उनले अगाडी थप्छन्, नेपाली औषधि उद्योगका लागि पनि यतिवेला संक्रमणकाल हो भन्दा हुन्छ । धेरै चुनौतीहरु छन् । त्यसलाई तत्काल चिर्नुछ । यसका लागि म तयार भएर नै यो दावेदारी प्रस्तुत गरेको हुँ’ अध्यक्षमा दावेदावी पेश गर्नुको कारण सुनाउँछन् ।
औषधि आयात रोक लगाउने देखि निर्यात गर्नेसम्मका एजेण्डा
अध्यक्षका दावेदारी प्रस्तुत गरेका क्षेत्री र पाण्डेले नेपाली औषधि उद्योगको श्रीबृद्धिका लागि आफ्ना आफ्ना भिजन पनि सुनाएका छन् । क्षेत्री भन्छन्, ‘मेरो योजना नेपालमा औषधिको आत्मनिर्भरतालाई अघि बढाउने र यहि प्रसस्त उत्पादन भएका औषधिको आयातमा प्रतिवन्ध लगाउनुपर्छ भन्ने हो । त्यसमा हामीले निकै काम पनि गरिसकेका छौँ । मैले नेतृत्वमा गएँ भने यसलाई चाँडै नै कार्यान्वयनमा ल्याउन पहल गर्छु ।,’
उता अर्का प्रत्यासी पाण्डेको योजना क्षेत्रीको भन्दा थोरै भिन्न छ । ‘यहि आत्मनिर्भर भएका औषधिको आयात रोक्नुपर्छ त भनेकै छौँ । त्यसबाहेक नेपाली औषधि उद्योगबाट उत्पादित औषधि निर्यात समेत गर्नुपर्छ भन्ने मेरो भनाई हो । मैले नेपाली औषधि उद्योगलाई श्रीबृद्धि गर्दै अन्तराष्ट्रिय जगतमा समेत नेपाली औषधि पठाउनुपर्छ भन्ने मान्यता राख्दछु ।’
चुनावमा भए दुबैको जित्ने दावी
एपोनमा नेतृत्वका लागि पछिल्लो चार पाँच कार्यकाल चुनाव भएको छैन । पहिले चुनावी माहोल भएपनि अन्तिममा सहमतिमा जाने प्रचलन छ । यसपटक पनि कतिपय पदाधिकारीहरुले अन्तिममा सहमतिमै जाने विश्वास गरेका छन् । तर चुनाव भै हाल्यो भने नतिजा के हुन्छ त ? बरिष्ठ उपाध्यक्ष क्षेत्री भन्छन्, ‘चुनाव भए त मैले सहजै जित्छु ।’
उता अर्का प्रत्यासी पाण्डे भन्छन्, ‘हार्ने गरी त को चुनाव उठ्छ ? सबै बिचार पु–याएरै उम्मेद्धारी दिने निर्णय लिएको हुँ ।’ उनी पनि चुनाव भए आफू सहजै विजयी हुने बताउँछन् ।
औषधि उद्योग घरानाका पाण्डे दोस्रो पुस्ताका उद्यमी मानिन्छन् । बाबु प्रदीपजंघ पाण्डेले खोलेको लोमस फर्मास्यूटिकल्ससंग आवद्ध उनी औषधिका क्षेत्रका पढेलेखेका विद्धान मानिन्छन् । औषधिकै विषयमा एमफार्म गरेका उनले एमबीएसमेत पुरा गरेका छन् । उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका एसोसिएट प्रोफेसर समेत हुन् । उनी औषधि क्षेत्रमा लागेको २१ बर्ष पुरा भएको बताउँछन् ।
यता चितनवमा रहेको टाइम्स फर्मास्यूटिकल्ससंग आवद्ध भएका क्षेत्री औषधि उद्योगीका बीच पाका मानिन्छन् । आफै उद्योग खोलेको २३ बर्ष पुरा भएको बताउने उनले त्यसअघि औषधि आयात गर्ने गर्दथे । उनले १२ बर्ष भारतीय औषधिहरुको मार्केटिङ समेत गरेका थिए । आफू प्रदिपजंग पाण्डे नेतृत्वको एपोनको कार्यसमितिमा सहसचिव भएको समेत सुनाए ।
सहमतिमा जान सकिन्छ अध्यक्ष दाहाल
यता एपोनका अध्यक्ष दीपकप्रसाद दाहालले नेतृत्वका लागि सहमतिमा जान सक्ने संकेत गरेका छन् । उनी भन्छन्, ‘संगठन सानो भएको अवस्थामा सबैजना एकाकार भएर अघि बढ्नुको विकल्प छैन । चुनावले गोलबद्ध हुने कुरामा खलल उत्पन्न गर्न सक्छ । त्यसैले सकेसम्म हामी सहमतिमै जान्छौँ ।’
दाहालले नेपाली औषधि उद्योगको आकार ठूलो भई नसकेको भन्दै सबै पक्ष एकजुट भएर बढाउनुपर्ने बताए ।
एघार सदस्यीय कार्यसमिति रहेको एपोनमा अध्यक्ष निर्वाचित भएपछि बाँकी पदाधिकारीहरु नियुक्ति हुने प्रचलन छ । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र पाँच जना सदस्य रहने प्रावधान छ । निर्वतमान अध्यक्ष समेत सो समितिमा पदेन हुन्छ ।
सम्पर्क इमेल : [email protected]
Agenda and efforts for Implementation should be focused to select candidate.
मिलेर उठ्नु श्रेयस्कर देखिन्छ l नेपाली उद्गोगीका साझा समस्या हल गर्नमा ध्यान केन्द्रित गरे राम्रो ! सबै साथीलाई दशैको शुभकामना !!