औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल फेरी मन्त्रालय तानिए
काठमाडौँ, १२ असोज । औषधि व्यवस्था विमागको महानिर्देशक नारायण ढकाललाई पुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ । मन्त्रालयकै पत्र लिएर ढकाल एक साता अघि मात्रै विभागमा हाजिर हुन पुगेका थिए ।
गत शुक्रबार विभागमा पुगेको पत्रमा २४ भदौको मन्त्रीस्तरीय निर्णय अनुसार महानिर्देशक ढकाललाई कामकाज गर्ने गरि मन्त्रालय तानिएको उल्लेख छ । पत्र पाएपछि ढकालले आफूलाई अनौठो नलागेको प्रतिक्रिया दिए ।
‘अरुलाई अनौठो लाग्ला तर मलाई अनौठो लागेको छैन । पछिल्लो मितिको पत्रले हाजिर हुनु भन्छ, अघिल्लो मितिको निर्णयले सरुवा भएको भन्छ । यो सबै गोलमाल छ । मन्त्रालय गएर थप परामर्श नलिई भएन,’ उनले भने ।
गत १५ असारमा भएको समायोजन पछिको पदस्थापनमा महादिर्नेशकबाट हटाई राष्ट्रिय औषधि प्रयोगशाला प्रमुख बनाएपछि ढकाल सो निर्णय विरुद्ध २५ असारमा सर्बोच्च अदालत गएका थिए । अदालतले २१ साउनमा ढकालको पक्षमा अन्तरिम आदेश दिएको थियो ।
सर्बोच्चको आदेशको कार्यान्वयन गरेको भन्दै मन्त्रालयले गत १ असोजमा महानिर्देशकको जिम्मेवारी सम्हाल्नु भन्दै ढकाललाई पत्र दिएको थियो ।
ढकालले सोही पत्र बोकेर विभाग पुगी गत आईतबारबाट महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनको ठाँउमा दशौँ तहका पानबहादुर क्षेत्रीले निमित्त महानिर्देशक बनि काम काज सञ्चालन गरेका थिए ।
सम्पर्क इमेल : [email protected]