विश्व मुटु दिवसको सन्दर्भ पारेर नर्भिकले सञ्चालनमा ल्यायो नयाँ क्याथल्याव

काठमाडौँ, ११ असोज । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आजबाट नयाँ क्याथल्याव सञ्चालनमा ल्याएको छ । विश्व मुटु दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले रिवन काटी सो क्याथल्यावको उदघाटन गरे ।

यो क्याथल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको देशकै पहिलो क्याथल्यावपछिको तेस्रो पुस्ताको क्याथल्याव हो । उक्त क्याथल्याव अत्यन्तै नविनतम् सुविधा र प्रविधिले भएको अस्पतालको दावी छ । अस्पतालले नयाँ क्याथल्याव सञ्चालनमा आएपछि मुटुका रक्तनली हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुने बताएको छ ।

यसैबीच नर्भिकले विविध कार्यक्रमका साथ शनिबार यस वर्षको विश्व मुटु दिवस मनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १२ गते आइतबार (घटस्थापना) को दिन पर्न गएको छ ।


विश्व मुटु महासंघको आव्हानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिखमा यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको यस दिवसले झण्डै २ दशकलाई स्पर्श गर्न गइरहेको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु÷गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर कै मानिसहरु यसको चपेटामा पर्दैआएका छन् र रोगीहरु बढ्दै गइरहेका छन् ।

हाल विश्व भरका १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् ।

नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।

विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन शिक्षा मूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रमहरू गरिन्छ । यस वर्षको विश्व मुटु दिवसको नारा “स्वस्थ मुटुको नायक बनौं ” रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *