सर्बोच्चद्धारा आजको पेशी स्थगित, अर्को पेशी आइतबारका लागि तोकियो
काठमाडौँ, २५ भदौ । गत शुक्रबार अन्तरिम आदेश दिएर त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को एमबीबीएस, बीडीएस, नर्सिङ लगायत विभिन्न विषयको प्रवेश परीक्षा रोकेको सर्बोच्च अदालतले आजका लागि तोकेको पेशी समेत स्थगित गरेको छ । आज स्थगित पेशी आगामी आइतबारका लागि तोकिएको छ ।
सर्बोच्चले मुद्धाको विषयमा छलफल गर्न आइतबारका लागि दुबै पक्षलाई बोलाएको बुझिएको छ ।
यसअघि विद्यार्थी आयुष ओझाले चिकित्सा शिक्षा ऐनमा उल्लेखिथ ७५ प्रतिशत छात्रबृत्ति लगायतका विषय कार्यान्वनयमा ल्याउनुपर्ने भन्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत विपक्षी गराई गत १९ भदौमा सर्बोच्चमा मुद्धा दायर गरेका थिए ।
सर्बोच्चले सो मुद्धामा २० भदौमै प्रारम्भिक सुनुवाई गर्दै त्रिविले सञ्चालन गर्न लागेको २१ भदौ देखिको प्रवेश परीक्षा स्थगित गर्न अन्तरिम आदेश दिएको थियो । सो आदेश पछि त्रिविले २१ देखि २४ भदौसम्मको प्रवेश परीक्षाको कार्यक्रम
स्थगित गरेको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अन्तरिम आदेश दिँदा २५ भदौमा दुबै पक्षसंग छलफल गर्नुपर्ने भन्दै पेशी तोकेको थियो । तर आजको लागि तोकिएको सो पेशी एकाएक स्थगित हुँदा प्रवेश परीक्षा थप अन्योलमा परेको छ ।
त्रिविका कानुनी सल्लाहकार नारायण खनालले आजको लागि तोकिएको पेशी सर्बोच्चले आइतबारका लागि सारेको बताए । उनले सो दिन छलफल भयो भने अन्तरिम आदेश खारेज वा निरन्तरता दिने भन्ने सर्बोच्चले निर्णय गर्न सक्ने बताए ।
प्रवेश परीक्षाको मुखमा भएको अलमलले दशौँ हजार परीक्षार्थीलाई थप अन्योल सिर्जना गरेको विश्लेषकहरु बताउँछन् । उनीहरुले चिकित्सा शिक्षा जस्तो सम्वेदनशील विषयको मुद्धा छिटो किनारा लगाई समयमै पठन पाठनको बाटो मिलाउन सबै पक्षलाई आग्रह गरेका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



