शुक्रराज अस्पतालमा डेंगुको उपचार गराएका बिरामीसंग शुल्क नलिन निर्देशन

काठमाडौँ, १७ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शुक्र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुको उपचार गराएका बिरामीसंग शुल्क नलिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । सोमबार अस्पताल निरीक्षण गर्न पुगेका राज्यमन्त्री यादवले अस्पताल प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् ।

अस्पतालमा अहिले २४ जना डेंगुका बिरामी भर्ना भई उपचार गराईरहेका छन् । उक्त अवसरमा राज्यमन्त्री यादवले अस्पतालको निरीक्षण समेत गरेका थिए ।

‘मन्त्री ज्यूले डेंगुको उपचार गराईरहेका र अन्य बिरामीको स्वास्थ्य अवस्था बुझ्नु भयो । डेंगुको उपचारका लागि यहाँबाट अन्यन्त्र जान नपर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिनुभयो ,’अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले भने ।

डेंगु हेल्थ डेस्क स्थापना, फिवर क्लिनिक सञ्चालनमा

यसैबीच शुक्रराज अस्पतालले मंगलबारबाट अस्पताल परिसरमा डेंगु हेल्थ डेस्क स्थापना गरेको छ । डेंगुको अवस्था भयावह बन्दै गएपछि अस्पताले बिरामीको सहजताका लागि आकस्मिक कक्ष छेवैमा हेल्थ डेस्क राखेको हो । ज्वरो आएका बिरामीले उक्त डेस्कमा सम्पर्क राखी सहज रुपमा सेवा लिन सक्ने निर्देशक डा. पाण्डेले बताए ।

यस्तै अस्पतालले आजबाट ‘फिवर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको जनाएको छ । ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेको निर्देशक डा पाण्डेले बताए ।

आज मात्रै ५२१ जनाको डेंगु परीक्षण

देशभर डेंगुको प्रकोप बढ्दै गएको पछिल्लो समय टेकु अस्पतालमा देखिएको भिडले पनि स्पष्ट पारेको छ । अस्पतालका निर्देशक डा पाण्डेका अनुसार आज ( मंगलबार)मात्रै टेकु अस्पतालमा ५२१ जनाको डेंगु परीक्षण गरिएको छ । ‘पहिले पहिले यस्तो भिड लाग्ने थिएन । तर अहिले निकै भिड बढेको छ’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *