सर्बोच्चको आदेश पछि क्षेत्रीले छाडे, ढकाल पत्र पर्खदै

काठमाडौँ, १४ भदौ । समायोजन पछिको पदस्थापनमा औषधि व्यवस्था विभागका महानिर्देशक परिवर्तन भएपछि शुरु भएको विवाद अब भने सुल्झिने अवस्थामा पुगेको देखिन्छ ।

सर्बोच्च अदालतले आफूलाई महानिर्देशक पदबाट हटाउने निर्णय विरुद्ध नारायण ढकालले दायर गरेको रिटको पक्षमा भएको अन्तरिम आदेशको पत्र गत बुधबार विभागलाई पठाएको थियो ।

पत्र पाएसंगै निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले महानिर्देशक हैसियतमा गर्दै आएको काम गर्न छाडेका छन् । बरु उनले सर्बोच्चबाट पत्र आईसकेकोले आफूले महानिर्देशकको रुपमा काम गर्न छाडेको र थप निर्देशनका लागि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

यता ढकालले भने महानिर्देशकको जिम्मेवारी लिन जानका लागि मन्त्रालयको पत्रको प्रतिक्षा गरि बसेका छन् । ‘अब सर्बोच्चबाट त स्पष्ट आदेश आईसकेको छ । तर जिम्मेवारीमा फर्किनका लागि मन्त्रालयको पत्र नभई हुँदैन त्यसैको प्रतिक्षामा छु,’ ढकालले भने ।

निमित्त महानिर्देशक क्षेत्रीले सर्बोच्चबाट नारायण ढकालको पक्षमा अन्तरिम आदेश आईसकेपछि आफूले जिम्मेवारीमा बसिरहनु नमिल्ने भन्दै पदीय काम नगरेको बताए । उनले भने, ‘पत्र आईसकेपछि पहिले जसरी काम गर्न पनि नमिल्दो रहेछ । अर्को नआउँदासम्म छाडेर जान पनि नमिल्ने त्यसैले मन्त्रालय समक्ष अब मैले के गरुम भनेर सोधी पठाएको छु ।’

उच्च स्रोतका अनुसार मन्त्रालयले सम्भवत आइतबार ( भोली) नारायण ढकाललाई महानिर्देशक जिम्मेवारी सम्हाल्नु भन्दै पत्र दिदैँछ । जिम्मेवारी सम्हाल्नका लागि उहाँले भोली पत्र पाउनुहुन्छ । मन्त्रालय स्रोतले भन्यो ।

गत १५ असारमा भएको समायोजन पछिको पदस्थापनमा विभागका तत्कालिन महानिर्देशक नारायण प्रसाद ढकाल (एघारौँ तह)लाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाइएको थियो । उनको ठाँउमा पान बहादुर क्षेत्री (दशौँ तह)लाई ल्याएर निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

सो निर्णय विरुद्ध सर्बोच्च अदालत गएका थिए । उनले नयाँ पदस्थापन कार्यान्वयन माग गर्दै २५ असारमा सर्बोच्च अदालतमा रिट दायर गरेका थिए ।

२१ साउनमा सो रिटको सुनुवाई गर्दै न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले ढकालको पक्षमा हुने गरी अन्तरिम आदेश दिएको थियो ।

तर आदेश पछि पनि लामो समय उनले जिम्मेवारी पाएका छैनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *