डेङ्गु र स्क्रवटाइफसबाट चितवनमा तीनको मृत्यु

672
Shares


चितवन, ११ भदौ । जिल्लामा डेङ्गु र स्क्रवर्टाफसका कारण तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् ।

कार्यालयले आज पत्रकार सम्मेलन गरी साउनयता डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ र स्क्रवटाइफसका कारण एक युवाको मृत्यु भएको जानकारी दिएको हो । यस्तै दुवैको सङ्क्रमणबाट एक किशोरीको मृत्यु भएको कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए ।

केसीका अनुसार मृत्यु हुनेमा भरतपुर महानगररपालिका–१ गङ्गोत्री मार्ग निवासी ७१ वर्षीय पुरुषको डेङ्गुको कारण मृत्यु भएको छ । यस्तै रौतहटका ३४ वर्षीय पुरुषको स्क्रवटाइफस र भरतपुर महानगरपालिकाको शुक्रनगर निवासी १६ वर्षीय किशोरीको मृत्यु भएको हो । किशोरीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

पत्रकार सम्मेलनमा जिल्लामा डेङ्गुको सङ्क्रमणको प्रकोप देखिएको जानकारी दिइएको थियो । साउनयता एक हजार ३५६ जनाको परीक्षणमा ४३३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले जानकारी दिए । अझै यसको सङ्क्रमण बढ्दो सङ्ख्यामा रहेको उनले बताए । सङ्क्रमितहरुमा चितवनमा सबैभन्दा धेरै रहेका छन् । चितवनको पनि भरतपुर महानगरपालिका–१, २, ३, ४, १०, ११ र १२ बढी सङ्क्रमित देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैबीच जिल्लामा स्क्रवटाइफसको सङ्क्रमण पनि बढेको देखिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार साउनयता ५०६ जनाको परीक्षण गरिएकोमा ४० जनामा सो रोगको सङ्क्रमण देखिएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *