क्यान्सर अस्पतालमा सबै प्रकारका रोगको शल्यक्रिया सेवा शुरु

भक्तपुर, १० भदौ । भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोगसँगै अन्य सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा शुरु गरेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव प्राडा ऋषिकेशनारायण श्रेष्ठले यही भदौ १ गतेदेखि अस्पतालले सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा शुरु गरेको जानकारी दिए ।

देशभरिका क्यान्सर रोगीहरुको उपचार गर्दै आएको अस्पतालले भक्तपुर नगरपालिकाका प्रमुखको अध्यक्षतामा गठन भएको अस्पतालको नयाँ व्यवस्थापन समिति आएपछि उच्च मनोबलका साथ काम गर्ने क्रममा यही भदौ १ गतेदेखि सबै रोगको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको उनले बताए ।

डा श्रेष्ठले नयाँ व्यवस्थापन समितिले अस्पतालको सेवालाई सहज बनाएकाले क्यान्सरका बिरामीको चापसमेत बढेको बताए । उनले भने, “नयाँ व्यवस्थापन समिति गठनपश्चात् अस्पतालका कर्मचारीहरुको मनोबल उच्चरूपमा बढेको छ, सबै कर्मचारीहरु खुशी र अझ लगनशील भई बिरामीको सेवामा कार्यरत छन्, बिरामीले सहज र सुलभरूपमा सेवा पाएका छन्, बिरामीको चाप पनि बढेको छ ।”

अहिले दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको उल्लेख गर्दै डा श्रेष्ठले नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिएको र बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको जानकारी दिए ।

पहिला दैनिक ८० बिरामी भर्ना हुने गरेकामा हाल १२० बिरामी भर्ना हुने गरेको, पहिला दैनिक पाँच जनासम्मको शल्यक्रिया हुने गरेकामा हाल आठदेखि १० जना बिरामीको जटिल शल्यक्रिया हुने गरेको र अस्पतालको शय्यासमेत अपुग भएको श्रेष्ठले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *