भेरी अञ्चल अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाइने : उपप्रधानमन्त्री यादव


काठमाडौँ, ३ भदौ । उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई तत्काल शिक्षण अस्पताल बनाउने कार्यक्रम नरहे पनि प्रदेश नं ५ कै उत्कृष्ट विशिष्टीकृत अस्पताल बनाइने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उत्तर दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रत्येक प्रदेशमा विशिष्टीकृत अस्पताल स्तरोन्नति गर्ने सरकारको योजनानुसार भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्न गत आवमा शुरु गरिसकिएको जानकारी दिए ।

उपप्रधानमन्त्री यादवले भेरी अञ्चल अस्पताललाई भविष्यमा शिक्षण अस्पताल बनाउन सकिने पनि बताए ।

बैठकमा सांसद महीन्द्रराय यादवले नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा कहिलेसम्ममा पु¥याइँदैछ भनी प्रश्न गरेका थिए ।

सांसद प्रेम सुवालले प्रधानमन्त्री स्वास्थ्योपचारका लागि सिङ्गापुर गएको प्रसङ्ग उठाउँदै नेपालमा सबै रोगको उपचारको व्यवस्था गर्न सकिँदैन र भनी पूरक प्रश्न गर्नुभएको थियो । जवाफमा उपप्रधानमन्त्री यादवले नेपालमा धेरै रोगको उपचार सम्भव भएको र भइरहेको बताउँदै यहीँका चिकित्सकको सिफारिसमा प्रधानमन्त्री उपचारका लागि सिङ्गापुर जानुभएको स्पष्ट पारे ।

उपप्रधानमन्त्री यादवले गजेन्द्रनारायण सिंह अस्पताललाई स्तरोन्तति गर्ने सम्बन्धमा सो अस्पताललाई आधार बनाएर रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन आदेश आइसकेको जानकारी दिए । सोहीअनुसार बजेट पनि विनियोजन भइसकेको उनको भनाइ थियो ।

सांसद प्रेम सुवालले सर्वसाधारण जनताको उपचारका लागि सरकारले सञ्चालन गर्दै आएको वीर, शिक्षण, कान्ति, प्रसूतिलगायत अस्पतालका उपकरण उपयोग नहुने र बिग्रिएको उपकरण समयमा मर्मत नहुने तर त्यहीँकै विशेषज्ञ चिकित्सक निजी महँगा अस्पतालमा काम गर्ने तथा गरीब बिरामीले उपचारको लागि घरखेत बेच्नुपर्ने स्थिति कहिले अन्त्य होला भनी प्रश्न गरेका थिए ।

जवाफमा उपप्रधानमन्त्री यादवले उक्त अस्पतालमा जनताको सहज उपचारका लागि विभिन्न व्यवस्था गरिएको बताउँदै सिटी स्क्यानलगात उपकरण चालू अवस्थामा रहेको बताए । उनले ती अस्पतालमा विशिष्टीकृत सेवासहित स्तरोन्नति गर्न विभिन्न योजना अघि बढाइएको जानकारी गराए ।

एक चिकित्सक एक अस्पताल

सरकारी अस्पतालका विशिष्टीकृत चिकित्सक निजी अस्पतालमा काम गर्ने प्रवृत्ति रोक्न एक चिकित्सकले एक अस्पतालमा मात्र काम गर्न पाउने कानूनी व्यवस्था गरी लागू गरिएको उपप्रधानमन्त्री यादवले जानकारी दिए । सांसदका प्रश्नको जवाफ दिँदै उनले नेपालमा खपत हुने कूल औषधिमध्ये करीब ४० प्रतिशत आन्तरिक उत्पादनबाट पूर्ति हुने गरेको र बाँकी बाहिरबाट आयात भइरहेको तथा नेपालमा बन्ने औषधिको अधिकांश कच्चा पदार्थ चीनबाट आयात हुने गरेको उनको भनाइ थियो ।

सांसद महेश बस्नेतले गरेको पूरक प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले भक्तपुर क्यान्सर अस्पतालमा भएको भनिएको अनियमितताका सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र सो अस्पताल सञ्चालन गर्ने संस्थासँगको समन्वयमा आवश्यक कारवाही अघि बढाइने बताउनुभयो । बैठकमा उपप्रधानमन्त्री यादवले उपचार गर्न विदेशिने क्रम रोक्नका लागि कानूनी प्रावधान छैन भन्दै आँखाको रोगको उपचारमा धेरै विदेशी नेपाल आउने गरेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *