भक्तपुर क्यान्सर अस्पतालमा सय शय्या


काठमाडौँ, २ भदौ । भक्तपुर क्यान्सर अस्पतालले स्थापना कालदेखि नै सस्तो तथा सुलभ ढङ्गले बिरामीको सेवा गर्दै आएको जनाएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अस्पतालको व्यवस्थापन समितिले दिएको जानकारीअनुसार अस्पतालले अर्बुद रोगका बिरामीलाई रु एक लाखसम्ममा उपचार गर्दै आएको जनाएको छ ।

अस्पाताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले १५ शय्याबाट शुरु भएको अस्पतालमा हाल १०० शय्या रहेको बताउँदै अरु अस्पतालमा बिरामीले रु पाँच लाखसम्म खर्च गर्नुपर्ने अवस्था रहेको र सो अस्पतालमा रु एक लाख मात्र खर्च गरेर उपचार पाउने गरिएको जानकारी दिए । उनले अर्बुद जस्तो संवेदनशील स्वास्थ्य सेवा प्रदान गर्दै आएको भक्तपुर क्यान्सर अस्पतालमा हालैका दिनमा राजनीति प्रवेश गरेकामा चिन्ता व्यक्त गरे ।

श्रेष्ठले अस्पतालको विधानविपरीत भक्तपुर नगरपालिकाले आफू नेतृत्वको अस्पताल व्यवस्थापन समिति विघटन गरी नगरप्रमुखको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेकामा आपत्ति प्रकट गरे । उनले अस्पताल व्यवस्थापनमा त्यहाँका कर्मचारी र व्यवस्थापनबीच दशकौँदेखि सौहाद्र सम्बन्ध रहेकाले नगरपालिकाको कदमले अस्पतालको वातावरणमा राजनीतिक रङ्ग देखिएको उल्लेख गरे ।

व्यवस्थापन समितिका सदस्य बिमलकुमार होडाले नेपाल अर्बुद रोग निवारण संस्था २०३९ सालमा स्थापना गरिएको अर्बुद रोग निवारणसम्बन्धी नेपालको पहिलो कल्याणकारी सामाजिक संस्था भएको बताए । विसं २०५१ मा भक्तपुर क्यान्सर केयर सेन्टरको नामबाट सञ्चालन गरी हाल भक्तपुर क्यान्सर अस्पतालका रुपमा नेपालभरिका अर्बुदाका बिरामीलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको उनले बताए।

विसं २०५१ देखि हालसम्म अस्पतालले एक लाखभन्दा बढी बिरामीको उपचार गरेको उनले जानकारी दिए । सबै किसिमका अर्बुद रोगको उपचार सेवा दिँदै आएको अस्पतालले बाहिरभन्दा ५० प्रतिशत छुट दिएको बताए । धेरै वर्षको प्रयासको बाबजुद अर्बुद रोगीको सुलभ उपचारमा हालैमात्र रेडियोथेरापी सेवामा अत्याधुनिक उपकरण लिनायक एसीलेटर जडान भई सेवासमेत सञ्चालन गर्न लागिएको हाडाले जानकारी दिनुए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *