सुमेरुमा शुरु भयो मिर्गौला प्रत्यारोपण, दुई साता अघि दुई जनामा

काठमाडौँ, १६ साउन ।  धापाखेलस्थित सुमेरु अस्पतालले मिर्गौला प्रत्यारोपण शुरु गरेको छ । दुई साता अघि अस्पतालले दुई जनामा मिर्गौलाको सफल प्रत्यारोपण गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक एवं मिर्गौैला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेको टीमले गत ३० असारमा शुक्रानी योञ्जन र गत २ साउनमा विकास गुरुङमा मिर्गौला प्रत्यारोपण गरेको हो ।

अस्पतालका अनुसार रामेछापकी ३० बर्षीया शुक्रानीलाई आफ्नी ४९ बर्षीया आमाले मिर्गौैला दिएकी हुन् भने पोखराका ३१ बर्षीय विकासलाई उनकी श्रीमती रोजीले मिर्गौला दिएकी हुन् ।

कार्यकारी निर्देशक डा काफ्लेले अस्पतालले पहिलो पटक गरेको केश भएकोले दुबै प्रत्यारोपण निशुल्क गरिएको बताए ।

यसअघि सरकारले गत ७ फागुनमा सुमेरु अस्पताललाई मिर्गौला प्रत्यारोपण गर्ने लाइसेन्स दिएको थियो ।

निर्देशक डा काफ्लेले प्रत्यारोपणका लागि सरकारले छुट्याएको चार लाख रुपैयाँमै आफूहरुले पनि सेवा दिनसक्ने बताए । तर अहिले निजी क्षेत्रको अस्पतालले सरकारले प्रत्यारोपणका लागि सहुलियत दिएको छैन ।

उनले भने, ‘सरकारले प्रत्यारोपणका सरकारी अस्पताललाई उपलव्ध गराएको चार लाख रुपैयाँ हामीलाई पनि दिएमा प्रत्यारोपण निशुल्क गर्छौँ । तर औषधिका लागि साढे दुई लाख रुपैयाँ भने तिर्नुपर्ने हुन्छ ।’

सुमेरुले सातामा सकेसम्म दुईवटा मिर्गौला प्रत्यारोपण केश नसके एउटा गर्ने योजना बनाएको समेत डा काफ्लेले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *