सबै पालिका र प्रदेशमा स्तनपान कक्ष स्थापना गर्दै सरकार

  • विष्णु नेपाल

काठमाडौँ, १६ साउन । ‘काखमा नवजात शिशु छ, स्तनपान गराइरहनुपर्छ । सेवा लिन स्थानीय सरकार (गाउँपालिका-नगरपालिका तथा प्रदेश) जानुपरेको छ । नजिकको सरकारको भवनमा स्तनपान मैत्री संरचना छैनन्,’ धेरै सेवाग्राहीले गर्ने गुनासो हो यो ।

तर , यो समस्याको अब अन्त्य हुने भएको छ । पालिका तथा प्रदेश कार्यालयले अनिवार्य आफ्ना भवनमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान सरकारले कार्यान्वयनमा ल्याउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रजनन स्वास्थ्य ऐनको प्रावधानलाई कार्यान्वयन गर्न ७५३ वटै पालिकासहित प्रदेश कार्यालयमा स्तनपान कक्ष स्थापना गर्न अनुरोध/परिपत्र गर्ने तयारी गर्दैछ ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग परिसरमा गत वर्ष आजको दिन स्तनपान कक्ष स्थापना गरिएको थियो । सो कक्षमा दुईजना महिलासम्मले आफ्ना शिशुलाई स्तनपान गराई सुताउन सक्नेछन् ।

परिवार स्वास्थ्य महाशाखाका पोषण शाखाका प्रमुख केदार पराजुलीले स्तनपान सप्ताह २०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रजनन स्वास्थ्य ऐनलाई कार्यान्वय गर्न सबै पालिकामा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयले अनुरोध÷परिपत्र गर्न लागेको जानकारी दिए ।

सो ऐनमा सरकारी संरचनामा अनिवार्य स्तनपान कक्ष व्यवस्था हुनुपर्ने प्रावधान रहेको छ । पछिल्लो समय स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य सस्था, अस्पतालले समेत धमाधम स्तनपान कक्ष स्थापना गरिरहेका छन् । तर अन्य मन्त्रालयलमा स्तनपान कक्ष स्थापना गरेका छैनन् ।

नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवन तथा सिंहदरबारस्थित सचिवालयको भवनमा समेत स्तनपान कक्ष छैन । पहिलो र दोस्रो संविधानसभा बैठकका समयमा महिला सांसदका लागि छुट्टै कोठाको व्यवस्था मिलाइको थियो ।
उसो त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक विमानस्थलमा ‘स्तनपान कर्नर’ रहेका छ । सबै यात्रुले देख्नसक्ने ठाउँमा सो कर्नर नरहेकाले धेरैले यो सुविधा उपयोग गर्न पाएका छैनन् ।

पछिल्लो जनसाङ्ख्यिक सर्वेक्षण २०१६ का अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या ६६ प्रतिशत मात्र रहेको छ । पूर्ण स्तनपान भन्नाले शिशुको जन्म भएपछि एक घण्टाभित्र देखि पाँच वर्षसम्मको स्तनपानलाई जनाउँछ । अर्कोतर्फ शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या ५५ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन ।

सर्वेक्षणले स्तनपान गराउनुअघि १० जनामध्ये तीन जना शिशुलाई घ्यू, मह, चिनी चटाउने गरेको देखाएको थियो । शल्यक्रिया गरेर जन्माइएका शिशुलाई भने आमाको दूधलाई प्रतिस्थापना गर्ने अन्य खुवाइने गरेको देखिएको छ ।

अर्कोतर्फ आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु बिक्री वितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ । सो सम्बन्धी ऐन २०४९ र नियमावली २०५१ जारी भएको थियो । तर ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन भएको छैन । नेपालमा आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु कति बिक्री वितरण हुन्छ भन्ने अध्ययन भएको छैन ।

काठमाडौँ उपत्यकामा नै स्तनपानको अवस्था दयनीय

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र हेलन केलर इन्टरनेशनलले गरेको एक अध्ययनका अनुसार काठमाडाँै उपत्यकाभित्र रहेका अस्पतालमा नै स्तनपान अवस्था गतिलो छैन । अध्ययनका अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपानको दर केवल ४१ प्रतिशत मात्र रहेको छ । तीन दिनपछि नै आमाले बट्टाको दूध शिशुलाई खुवाउन थालेको सो अध्ययनले देखाएको थियो ।

यसैगरी शिशु जन्मने बित्तिकैै आमाको नाङ्गो छातीमा टसाएर राख्ने दर केवल नौ प्रतिशत छ । शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न यसले सहयोग गर्ने हेलन केलरका स्वास्थ्य विज्ञ डा अतुल उपाध्याय बताउँछन् । उनी भन्छन्, “स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप हो, जन्मेको एक घण्टाभित्र देखि छ महिनासम्म स्तनपान मात्र, दुई वर्षदेखि स्तनपानका साथमा अन्य खानेकुरा खुवाउनाले आमा र शिशुको स्वास्थ्य राम्रो हुन्छ ।”

स्तनपानका फाइदा

स्तनपानले आमालाई गर्भ निरोधकका रुपमा काम गर्छ । शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोत हो । आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता हुन्छ ।

शिशुलाई जन्मना साथ छातीमा टाँसेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई उत्तेजित पार्छ । यसले सालनाल निक्लन र रक्तस्रावसमेत बन्द हुने र आमाको तनावसमेत कम हुने महाशाखाका अधिकृत मुकुन्दराज गौतम बताउनुहुन्छ । आमाको दूधमा रोग नाशक तत्व तथा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगका कीटाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरू बनाउँछ । यो तत्व ‘थोरासिक डक्ट’ भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाको पेटमा पुग्दछ । यसरी शिशु आमाको दूध नियमित रूपमा खाएर स्वस्थ रहन्छन् ।

‘आमा बाबुको सक्षमता, स्तनपानको सफलता’ आधार भन्ने नाराका साथ यस वर्ष स्तनपान दिवस साताव्यापी रुपमा मनाइँदैछ । सो अवसरका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेल, परिवार कल्याण महाशाखाका प्रमुख डा भीमसिंह तिङ्करीले स्तनपानका महत्वका बारेमा जानकारी दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *