चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न एघार जना डाक्टरले दिए दरखास्त

काठमाडौँ, १५ साउन । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ११ जना डाक्टरले दरखास्त हालेका छन् । खुल्ला प्रतिस्पर्धाबाट उपाध्यक्ष नियुक्त गर्न सरकारले गठन गरेको सिफारिस समिति समक्ष उनीहरुले दरखास्त हालेका हुन् ।

अघिल्लो पटक दरखास्त हालेका व्यक्तिहरु अयोग्य भन्दै बदर गरेर नयाँ सूचना निकालेको समितिले १५ साउनसम्मको म्याद तोकेको थियो ।

शिक्षा मन्त्रालयका अनुसार दरखास्त दिनेहरुमा प्राडा सुरेन्द्र शेरचन, प्राडा शम्भुकुमार पहारी, प्राडा जेएन पाण्डे हिमाली, प्राडा यहुनचन्द्र सिवाकोटी, प्राडा तरुण पौडेल र प्राडा राजेन्द्रप्रसाद साह छन् ।

अघिल्लो पटक अयोग्य भन्दै दरखास्त नै रद्धमा परेका प्राडा श्रीकृष्ण गिरि, प्राडा रमेशप्रसाद सिंह, डा निलमणि उपाध्याय, प्राडा पारसकुमार पोखरेल र प्राडा प्रमोदकुमार शर्माले पुन दरखास्त हालेका छन् ।

गत चैत ४ गते बसेको आयोगको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आयोगको कार्यकारी अधिकार रहने उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार सिफारिस समितिमा लोकसेवा आयोगको अध्यक्ष संयोजक रहने व्यवस्था छ।

उक्त समितिमा मुख्यसचिव वा निजले तोकेको प्रधानमन्त्री कार्यालयका सचिव र चिकित्सा क्षेत्रका प्राध्यापकमध्ये सरकारले तोकेको महिला एक जना सदस्य हुने व्यवस्था छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *