डाबरका औषधिमा उच्च आर्सेनिक

काठमाडौँ, १५ साउन । झापाका ३६ वर्षे वेदप्रसाद शर्मा पेसाले कविराज हुन् । आयुर्वेदिक औषधिबारे आफैं जानकार छन् । करिब ४ वर्षअघि ढाड दुख्न थालेपछि उनले अर्का आयुर्वेदिक डा. सिद्धार्थ ठाकुरको सल्लाह लिए । अनि उनैको सल्लाहअनुसार शर्माले डाबर इन्डियाबाट उत्पादित आयुर्वेदिक औषधिहरू महायोगराज गुग्गुल, प्रवाल भष्म, महावाधिध्वंसन रस, वातगजांकुशरस, प्रवाल भष्म, बृहतवातचिन्तामणि रसलगायत औषधि सेवन गर्न थाले ।

कतिपय चिकित्सकले उनलाई शल्यक्रिया गर्नुपर्ने सल्लाह पनि दिएका थिए । तर डा। ठाकुरकै सल्लाहमा शर्माले डाबर इन्डिया लिमिटेडबाट उत्पादित ती औषधि सेवन गरे । औषधि सेवन गरेको केही दिनमा उनलाई हल्का सञ्चो भयो । निको भए जस्तो लागेपछि काममा फर्किए । दुई सातापछि ढाड दुख्ने समस्या फेरि बल्झियो ।

करिब ६र७ महिनासम्म निको हुँदा औषधि छाड्ने र बल्झिँदा खाने गर्न थालें,’ उनले भने, ‘त्यति गर्दा पनि समस्या समाधान नभएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा शल्यक्रिया गराएँ । केही दिनपछि छाला कालो हुने, उप्किनेलगायत समस्या देखिए । न्युरो अस्पतालमा फलोअपमा जाँदा ढाडको समस्या निको भइसकेको थियो । तर छालाको समस्याले पिरोल्न थाल्यो ।’

विभिन्न ठाउँमा परीक्षण गराउँदासमेत कारण पत्ता लागेन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखाउँदा आर्सेनिकका कारण यस्तो समस्या भएको आशंका गरियो । योसँगै अन्य विभिन्न स्वास्थ्य समस्या पनि देखिन थाले । स्वास्थ्य स्थिति थप जटिल बन्दै गएपछि उनी भारतको भेलौरस्थित क्रिस्चियन मेडिकल कलेज (सीएमसी) गए । त्यहाँ जँचाउँदा शरीरमा अधिकतम ०.५ मिलिग्राम आर्सेनिक मात्रा हुनुपर्नेमा १ सय ९९ मिलिग्राम देखियो । पिसाबमा यसको मात्रा १ हजार १ सय ४२ मिलिग्राम थियो ।

विभिन्न किसिमका प्राविधिक परीक्षणपछि अस्पतालले उनको रोग ुबोनम्यारो डिप्रेसनु भएको पत्ता लगायो । यसका पछाडि आर्सेनिक विषाक्तता मुख्य कारण रहेको चिकित्सहरूको ठहर थियो । सीएमसीले बिरामीको चिकित्सा इतिहास केलाउने क्रममा डाबरको औषधि सेवन गरेको पत्ता लागेपछि ती औषधिको परीक्षण पनि गराएको थियो । परीक्षणबाट ती औषधिमा आर्सेनिक र हेभी मेटलको मात्रा अत्यधिक देखियो ।

‘मसँगै बंगलादेशका एक जना पनि आयुर्वेदिक औषधि खाएर आर्सेनिक विषाक्तताको मारमा परेका थिए । उनको त मृत्यु नै भयो,’ शर्माले भने, ‘अहिले आर्सेनिकको मात्रा कम गर्न महँगो औषधि खानुपर्ने बाध्यता छ ।’ केही दिनअघि शर्माले सीएमसीमा परीक्षण गराउँदा प्लेटेलेटसको मात्रा २५ हजार मात्र देखिएको उनले बताए ।

‘चिकित्सकहरूले यो मात्रा ८० हजार नपुगेसम्म शल्यक्रिया नगर्ने बताएका छन्,’ उनले भने । डाबर इन्डियाबाट उत्पादित आयुर्वेदिक औषधिका कारण आर्सेनिक विषाक्तता भएर ‘बोनम्यारोडिप्रेसन’ भएको दाबीसहित शर्माले सम्बद्घ निकायसँग क्षतिपूर्ति मागेका छन् ।

सीएमसीमा उपचाररत शर्माको केही दिनमा शल्यक्रिया हुँदै छ । ‘डाबर कम्पनीका केही औषधिका कारण दीर्घकालीन आर्सेनिक विषाक्तता भएर बोनम्यारो डिप्रेसन भएको हो,’ उनले  भने ।

शर्माले सेवन गरेको आयुर्वेदिक औषधिकै कारण बोनम्यारो डिप्रेसन भएको सीएमसीको चिकित्सा टोलीको पनि निष्कर्ष छ । शर्माले डाबरलाई कारबाही र आफूलाई क्षतिपूर्ति माग्दै केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ र उपभोक्ता हित संरक्षण मञ्चमा पनि निवेदन दिएका थिए ।

सीआईबीले यसबारे उजुरी आएको जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पत्र पठाएको छ । विभागबाटै कानुनअनुसार अनुसन्धान र कारबाही हुने भएकाले सबै जानकारी पठाइएको पत्रमा उल्लेख छ ।

‘सीआईबीमा उजुरी गरेपछि मैले प्रयोगशाला परीक्षणको प्रतिवेदन उपलब्ध गराएँ,’ शर्माले भने, ‘प्रहरीले समेत नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ‘नास्ट’ मा परीक्षण गरायो । सबैमा आर्सेनिक प्वाइजनिङ देखियो ।’

डाबर प्रतिनिधि अभय गोर्खाली भन्छन्
डाबर इन्डियाको उत्पादनलाई नेपालमा लुना ट्रेडिङले बेच्ने गरेको छ । ती उत्पादनसँग डाबर नेपालको कानुनी रुपमा कुनै सरोकार छैन । डाबर इन्डियाका उल्लिखित औषधिलाई कसले, कहाँ, के परीक्षण गरायो, कुन रिपोर्ट ‘जेनरेट’ गर्‍यो, त्यसको जिम्मा डाबर नेपालले लिन सक्दैन ।

डाबर इन्डियाका ती औषधि खुवाउन नहुने खालको भए सरकार र औषधि व्यवस्था विभाग (डीडीए) ले किन बेच्ने अनुमति दिन्थे  ?
ती सबै औषधि गुणस्तरयुक्तछन् । डीडीएको मापदण्डअनुरुपका सबै प्रक्रिया पूरागरेर ती औषधि बिक्रीवितरण भइरहेका छन् । औषधिमा आर्सेनिक र मर्करी अत्यधिक मात्रामा पाइएको आरोपसँग म सहमत छैन ।

  • आजको कान्तिपुर दैनिकमा अतुल मिश्रको समाचार

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *