‘फार्माकोग्नोसी’ र ‘फाइटोकेमिस्ट्री’को पाठ्यक्रम बनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
काठमाडौँमा कार्यशाला गोष्ठीको आयोजना गरि विज्ञसंग लिए राय सुझाव

काठमाडौँ, ११ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यसवर्ष देखि मास्टर अफ फार्मेसी इन फार्माकोग्नोसी र फाइटोकेमिस्ट्रीको अध्यापन हुँदैछ । चिकित्सा शिक्षा आयोगले फार्माकोग्नोसी र फाइटोकेमिस्ट्रीे विषयमा अध्ययन गराउन यस वर्ष प्रतिष्ठानलाई पाँच सिट छुट्याएको छ ।
खासगरी यो विषय औषधीमा प्रयोग हुने जडिबुटी तथा बोटबिरुवाबारेको अध्ययनमा केन्द्रीत छ । जडिबुटीमा धनी मानिएको कर्णाली प्रदेशमै यी विषयको पढाई हुँदा यसको महत्व अझ बढी हुने विज्ञहरुको बुझाई छ ।
धेरै अघि काठमाडौँ विश्वविद्यालयले यो विषयको अध्ययन् गराए पनि यतिवेला हराई सकेको छ । त्यसैले जुम्लाको प्रतिष्ठानले सुरु गर्न लागेको यो विषय नयाँ हो । चिकित्सा शिक्षा आयोगले यसपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मात्रै यो विषयका लागि सिट निर्धारण गरे पनि तयारी पाठ्यक्रम छैन ।
बुधबार राजधानीमा प्रतिष्ठानकै आयोजनामा फार्माकोग्नोसी र फाइटोकेमिस्ट्रीको पाठ्यक्रमलाई अन्तिम रुप दिनका लागि विज्ञसम्मिलित एक दिने कार्यशाला गोष्ठीको आयोजना भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ फार्मेसीका सहायक डिन डा विजय अर्यालको अध्यक्षतामा भएको गोष्ठीमा प्रतिष्ठानका निमित्त उपकुलपति डा डबलबहादुर धामी, रेक्टर शेषानन्द सञ्जेल लगायतको उपस्थिति थियो ।
यस्तै काठमाडौँ विश्वविद्यालयका प्राडा राजेन्द्र ज्ञवाली, मनमोहन कलेजका सह प्रा बेचन रावत, उपप्राध्यापक अमृत खनाल, निष्टकी डा सभ्यता गौतम, आईओएमका अर्जुन बुढा क्षेत्री, सिस्टका साजन महर्जन, लिटिल बुद्धकी निरु व्यन्जनकार, पूर्वाञ्चल विश्वविद्यालयका सुशील रेग्मी लगायतको उपस्थित थियो ।
‘नयाँ विषय भएकोले यसको पाठ्यक्रम पनि नयाँ बन्दैछ । आजको बैठक त्यसलाई फाइनल टच दिनका लागि आयोजना गरिएको हो । केही छुटेका भए वा सच्याउनु पर्ने भएमा अन्तिम पटक हेर्ने काम भयो । अब छिटै नै यसले पूर्णता पाउँछ,’ बैठकमा सहभागी उपप्राध्यापक अमृत खनालले भने ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रतिष्ठानका निमित्त उपकुलपति डा धामीले प्रतिष्ठानको शैक्षिक कार्यक्रमबारेमा बताएका थिए । यस्तै सहायक डीन अर्यालले नयाँ विषय जुम्लामा पढाउनुको उदेश्य र यसको महत्वको बारेमा जानकारी गराएका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



