शहीद गङ्गालाल राष्टिय हृदय केन्द्रको नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनको शुभारम्भ

काठमाडौँ, ११ साउन । काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्टिय हृदय केन्द्रमा आजदेखि नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताए । उनले भगवान् माथिको विश्वास तथा भगवानमा भर परेको भए आज स्वास्थ्य क्षेत्रमा जटिल प्रकारको रोगको उन्मूलन तथा औषधिको विकास सम्भव नरहेको उल्लेख गरे ।

भगवान् बुद्धको उपदेशको स्मरण गर्दै उनले बुद्धले पनि पात तथा जडिबुटी छोएको र त्यस बेलादेखि नै जडिबुटी औषधि विज्ञानको गौरवपूर्ण इतिहास रहेको चर्चा गरे । ओलीले गङ्गालाल हृदय केन्द्रको स्थापनापछि हालसम्म १७ हजार बिरामी मुटुको शल्यक्रिया गरेकामा त्यहाँका स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै गङ्गालाल हृदय केन्द्रले मुटुरोग लाग्न नदिन जनसाधारणमा सक्दो सचेतना फैलाउन जरुरी भएको बताए ।

“यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई समान भावले उपचार गर्नेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानवजातीका रुपमा उपचार गर्नुपर्दछ ।”

कार्यक्रममा शहीद गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले मुटु रोगीको उपचारलाई ध्यानमा राखेर स्थापना गरेको यो केन्द्रको स्थापनापछि धेरै मुटु रोगीले स्वास्थ्य उपचार र नयाँ जीवन पाएको बताए ।

समारोहको सभापतित्व स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गर्नुभएको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको समेत उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *