भरतपुर अस्पतालको आकस्मिक कक्ष साँघुरो हुँदा बिरामी मर्कामा

नारायण अधिकारी

चितवन, ८ साउन । आकस्मिक कक्षमा बिरामीको चाप बढेपछि भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी केशव श्रेष्ठलाई कहाँ राखेर उपचार गराउने भन्ने समस्याले सतायो । हिजो मङ्गलबार राति अस्पतालको आकस्मिक कक्षमा ५० जना बिरामी उपचारका लागि आएका थिए ।

सोही रात प्रहरीले परीक्षणका लागि ल्याएका २३ जना बिरामी पनि थपिएपछि अस्पताल प्रशासनलाई धौ धौ प¥यौ । आकस्मिक कक्षमा रहेका जम्मा १२ वटा श्ययामा सबैलाई उपचार गर्न कठिन भएको श्रेष्ठले बताए । तीमध्ये विषादी सेवन गरेका तीन र दमको एक जना बिरामीलाई अस्पतालको सघन उपचार कक्ष खाली नभएकाले निजी मेडिकल कलेज पठाइएको थियो ।

बाँकीमध्ये केही उपचारपछि घर गएका, थप उपचार गर्नुपर्ने भएकालाई विभागहरुमा पठाइएको र बाँकीलाई एउटै श्ययामा तीन जनासम्म राखेर उपचार गरिएको श्रेष्ठले जानकारी दिए ।

यो समस्या एक दिनको मात्र होइन । दैनिक दुई हजारभन्दा बढी बिरामीको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालमा आकस्मिक कक्ष साँघुरो हुँदा एउटै श्ययामा तीन जनासम्म बिरामी राखेर उपचार गराउनु पर्ने अवस्था छ । उनी भन्छन्, ‘‘कतिपय श्ययाको अभावमा आफ्ना बिरामीलाई अन्य निजी अस्पतालमा लैजान बाध्य भएका छन् ।’’

अस्पतालको आकस्मिक कक्ष प्रमुख राजकुमार ढुङ्गाना निकै कठिनाइका साथ काम गर्नु परेको गुनासो गर्छन् । अस्पतालका सबै विभाग व्यवस्थित भइसक्दा पनि अति महत्वपूर्ण विभाग आकस्मिक कक्षको व्यवस्थापन हुन नसकेको उनको भनाइ छ ।

दैनिकजसो श्यया नपाएपछि बिरामी र आफन्तले कर्मचारीहरुसँग झगडा गर्ने गरेको ढुङ्गानाले बताए । अस्पतालको कूल श्ययाको १० प्रतिशत अर्थात् ६० श्ययाको आकस्मिक कक्ष हुनुपर्ने भए पनि स्थापनाको समयदेखिको १२ श्ययामा खुम्चनु परेको ढुङ्गानाको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बिरामीको चापअनुसारको आकस्मिक कक्ष नभएको स्वीकारे । आकस्मिक कक्षसँगै प्रयोगशालासमेत आवश्यक हुने भए पनि यस्तो व्यवस्थापन हुन नसकेको उनले जानकारी दिए । चालू आर्थिक वर्षमा सुविधा सम्पन्न आकस्मिक कक्ष निर्माण गर्नुपर्ने आवश्यकता आफूले देखेको र सोही अनुरुप प्रक्रिया अघि बढाउन लागेको तिवारीको भनाइ छ ।

अस्पतालमा आउने बिरामीको आधारमा आकस्मिक कक्ष निकै सानो र अव्यवस्थित रहेको छ । पुरानो, जीर्ण र साँघुरो भवनमा आकस्मिक कक्ष सञ्चालन हुँदै आएको छ । आकस्मिक कक्षमा एउटा चरण ९सिफ्ट० मा एक चिकित्सक, एक प्यारामेडिक्स र एक जना नर्सिङ कर्मचारीको दरबन्दी रहेको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आकस्मिक कक्षमा एक महीनामा तीन हजार पाँच सय हाराहारी बिरामी उपचारका लागि आउने गर्दछन् । दिनको समयमा बहिरङ्ग सेवामा समेत जाने भए पनि रातिको समयमा आकस्मिक कक्षमा बिरामीको चाप बढी हुने गर्दछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *