चिकित्सा शिक्षाका दुई मुद्धा लिएर संसदीय समिति समक्ष पुग्यो युवा चिकित्सक संघ

काठमाडौँ, ७ साउन । चिकित्सा शिक्षाको विषयलाई लिएर युवा चिकित्सक संघ नेपालले व्यवस्थापिका संसद शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष डा चेतन बस्नेतको अगुवाईमा गएको टोलीले आज दिउसो सिंहदरबारस्थित समितिको कार्यालयमा पुगेर सभापति घर्तीको ध्यानाकर्षण गराएको हो ।

संघले त्रिभुवन विश्व विद्यालय (टीयू) र काठमाडौँ विश्वविद्यालय (केयू)ले गरेको समकक्षता निर्धारणमा अनियमितता गरेको तथा टीयू र केयूले शिक्षकहरुको पद भेरिफिकेसनमा गरेको अव्यवहारिक पक्ष गरी दुई बुँधामा सभापतिको ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष डा बस्नेतले नेपाल मेडिकल काउन्सिलको स्वीकृति लिएर विदेश गई अध्ययन सकेर आई लाइसेन्स समेत उत्तीर्ण गर्दा समेत टीयू र केयूले विभिन्न बाहना बनाई समकक्षता नदिने र थप अध्ययनका लागि समेत अफ्टेरो पार्ने गरेको बताए । यस्तै उनले टीयू र केयूमा अध्यापनरत शिक्षकहरुलाई एक अर्को विश्वविद्यालयले नमान्ने, तह घटाउने जस्ता कार्य गर्ने गरेको जानकारी दिए । यसले सोझा र इमान्दार शिक्षकलाई मार परेको भन्दै तत्काल निर्देशन दिन समिति सभापतिको ध्यानाकर्षण गराएको बताए ।

ध्यानाकषर्ण पत्र बुझेपछि सभापति घर्तीले सम्वन्धित विश्वविद्यालयका पदाधिकारीसमक्ष यस विषयमा छलफल गर्ने आश्वासन दिएकी थिइन ।

युवा चिकित्सक संघ नेपाल पछिल्लो समय चिकित्सा शिक्षा सुधारका विषय लिएर जिम्मेवार निकायलाई झक्झक्याउने कार्यमा अगाडी देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *