उपत्यका सहित सातवटै प्रदेशमा बिशिष्टीकृत बाल अस्पताल खोल्दै डा.भगवान कोइराला

काठमाडौँ, ५ साउन । काठमाडौँ उपत्यका सहित देशका सातवटै प्रदेशमा विशेषज्ञ सेवा सहितको विशिष्ठीकृत बाल अस्पताल खुल्ने भएको छ । बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाको अगुवाईमा विशिष्टीकृत बाल अस्पताल खुल्न लागेको हो ।

शनिबार राजधानीमा आयोजित विशेष समारोहमा नयाँ बाल अस्पतालको अवधारणा सार्वजनिक गरिएको थियो । डा. कोइरालाको अध्यक्षतामा दर्ता भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) आगामी दुई बर्ष भित्र काठमाडौँ उपत्यकामा १०० शैय्याको र त्यसपछि छ वटा प्रदेशमा ५० शैय्याको विशिष्ठीकृत बाल अस्पतालको रुपमा सञ्चालनमा आउने भनिएको छ ।

उनको टीममा दीपकराज सापकोटा, गोविन्दप्रसाद अधिकारी, बीरेन्द्रबहादुर बस्नेत, डा जोतिन्द्र शर्मा, भुवन दाहाल र भवानी राणा सदस्य रहेका छन् ।

‘हामीले खोल्न लागेको यो अस्पताल पूर्ण रुपमा गैरनाफामुलक हुनेछ । समाज र देशका लागि केही योगदान गरौँ भन्ने सकारात्मक सोच लिएर सामुहिक प्रयासमा यो प्रोजेक्ट अघि बढाउन लागेका हौँ,’ शनिबार आयोजित विशेष समारोहमा डा कोइरालाले भने ।

उनले नेपालमा १८ बर्ष मुनिका बालबालिकाको संख्या ४० प्रतिशत अर्थात १ करोड २० लाख रहेको तर उनीहरुको सही र सहज उपचारका लागि अहिले पनि उत्कृष्ठ संस्थाको अभाव रहेकोले बाल अस्पताल खोल्ने योजना अघि सारेको बताए ।

सोही अवसरमा किओचले इन्डियन रियालिटी सो सारेगमप लिटिल च्याम्समा सेकेण्ड रनरअप भएका नेपाली बाल गायक प्रितम आचार्यलाई आफ्नो गुडवील एम्बेस्डरमा नियुक्त गरेको थियो ।

कहाँ खुल्दैछ किओच ?
डा कोइरालाको टोलीले एक सय शैय्याको अस्पतालका लागि उपत्यकामा ४० रोपनी जग्गा खोजेको छ । त्यसका लागि काठमाडौँको हेपाली हाइटमा रहेको सरकारी जग्गाको टुंगो लगभग लागिसकेको छ ।  ‘किओचले सरकारसंग जग्गा भाडामा लिएर अस्पताल खोल्ने योजना बनाएको छ । यसको निर्णय आगामी मन्त्रिपरिषद्ले गर्ला सायद,’ डा कोइरालाले भने ।

के के हुन्छ सुविधा ?
किओचमा बाल बालिकामा देखिने सबै रोगको उपचार हुने बताइएको छ । गैर नाफामुलक भएकोले यसको उपचार सेवा आम सर्वसाधारणको पहुँचमा रहने डा कोइरालाको दावी छ । सञ्चालनमा आउनासाथ स्वास्थ्य बीमा, निशुल्क बाल उपचार कार्यक्रम लगयातका सबै सरकारी कार्यक्रम यो अस्पतालमा ल्याउनेछ । ‘आर्थिक रुपमा विपन्न नागरिकले पनि यो अस्पतालबाट उत्कृष्ठ सेवा लिन सक्नेगरी मोडल तयार गरिदैछ,’ डा कोइरालालले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *