शान्तिनगर गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकी


लमही, २ साउन । दाङको शान्तिनगर गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको छ ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउनका लागि गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए ।

“विकट वडाका नागरिकमा अझै पनि स्वास्थ्य सेवाको सहज पहुँचमा पुग्न सकेका छैनन्”, उनले भने, “त्यसैले हामीले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरिरहेका छौँ ।” शान्तिनगर गाउँपालिका–७ मा बिहीबार वडा स्वास्थ्य चौकी स्थापना गरिएसँगै सबै वडामा स्वास्थ्य चौकी पुगेका हुन् । उक्त स्वास्थ्य चौकीको बिहीबार गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले उद्घाटन गरेका हुन्।

वडा नं ७ स्थित दुविचौर दुविचौरमा आधारभूत वडा स्वास्थ्य संस्था सञ्चालनमा ल्याइएको वडाध्यक्ष पिमलाल ओलीले बताए । वडाका कुनै पनि नागरिक स्वास्थ्यबाट बञ्चित हुन नपरोस् भनी वडा स्वास्थ्य चौकी स्थापना गरिएको उनको भनाइ थियो । योसँगै आधारभूत स्वास्थ्य सेवा वडाबाटै वितरण हुने भएको छ । वडामा स्वास्य चौकी स्थापना भएपछि त्यहाँका नागरिकलाई सहज पनि भएको छ ।

यस्तै गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारलाई पनि विशेष महत्वका साथ बजेट विनियोजन गरेको अध्यक्ष डाँगीले बताए । विकट क्षेत्रमा भएकाले पनि गाउँपालिकाले स्वास्थ्यलाई बढी महत्व दिएको उनको भनाइ थियो ।

दुई स्वास्थ्य संस्थामा ल्याब

दाङको शान्तिनगर गाउँपालिकाका दुई वटा स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा दिने तयारी थालिएको छ । गाउँपालिकाले धनौरी र बाघमारे स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु गर्न थालिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।

“गाउँपालिकाका दुई वटा स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु गर्दैछौँ”, उनले भने, “त्यसका लागि प्रक्रिया अघि बढाएका छौँ ।” वडाबाटै सेवा प्रदान गर्नका लागि यो कार्य अघि बढाउन लागिएको अध्यक्ष डाँगीको भनाइ छ । अहिले ल्याब सेवा लिन तुलसीपुर बजारमै जानुपर्ने अवस्था रहेको भन्दै उनले यो समस्या समाधानका लागि गाउँपालिकाले ल्याब सेवा शुरु गर्न लागेको जानकारी दिए ।

अहिले शान्तिनगरको चिराघाट स्वास्थ्य चौकीमा भने ल्याब सेवा शुरु भएको छ । जसबाट चालू आर्थिक वर्षमा ८३३ जनाले सेवा लिएका छन् । साथै क्षयरोगको जाँच गराएका १४३ मध्ये पाँच जनामा यो रोग देखिएको संयोजक पुनले बताए ।

यसैबीच शान्तिनगरको चिराघाट स्वास्थ्य चौकीमा ३४ जना कडा खालका कुपोषण भएका बच्चा देखिएका छन् । शान्तिनगर गाउँपालिका स्वास्थ्य संयोजक हरि पुनका अनुसार उक्त स्वास्थ्य चौकीका ३४ जनामा कडा खालको कुपोषण भएको पाइएको हो । त्यस्तै मध्यम खालको कुपोषण ११७ मा देखिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *