स्वास्थ्यको समायोजन : सामान्यबाट आएको सूची फेरी स्वास्थ्यमा अड्कियो

काठमाडौँ, २ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टुग्याएको स्वास्थ्यको समायोजन विषय स्वास्थ्यमा आएर पुन अडकिएको छ । आजबाट कर्मचारीहरुलाई समायोजनको पत्र दिने बताइसकेको स्वास्थ्यले सो कार्य पनि केही दिन ढिला हुने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फेरी एक पटक ट्यालि र अध्यय्न गर्नुपर्ने देखिएकोले तत्काल पत्र वितरण गर्ने योजना स्थगित भएको बताए । ‘दुई चार दिन लाग्ला पहिले हामी अध्ययन् गर्छौै त्यसपछि मात्रै पत्र वितरण गर्नेछौँ,’ उनले भने ।

मन्त्रालय स्रोतका अनुसार गुनासा सम्वोधन भएको भनिए पनि यसपटक आएको सूची झनै गञ्जागोल भएको छ । त्यसैले मन्त्रालयका अधिकारीहरुले पत्र वितरण गर्ने कार्यक्रम स्थगित गरेका हुन् ।

प्रवक्ता श्रेष्ठले भने त्यस्तो नभएको बताए । ‘८० प्रतिशत त राम्रै भएर आएको छ । बाँकी २० प्रतिशतलाई पनि राम्रो गर्ने योजना हाम्रो हो,’ श्रेष्ठले भने । उनले अहिले समायोजन विग्रिएपनि पुन गुनासा लिने र समाधान गर्ने योजनामा मन्त्रालय लागेको बताए ।

समायोजन पछि चिठी लिन भन्दै स्वास्थ्यकर्मीहरु मन्त्रालयमा आएको आफूले थाह पाएको भन्दै समायोजनको मन्त्रालयमा नपाइने स्पष्ट पारे । उनले अध्ययन सकेपछि समायोजनको चिठी कर्मचारीको कार्यरत संस्थामै एकमुष्ट रुपमा जाने बताए ।

त्यसो त  समायोजनमा देखिएको समस्या समाधान गर्न भन्दै आज दिनभरजसो स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको कार्यकक्षमा सचिव रामप्रसाद थपलिया, सहसचिवद्धय श्रेष्ठ र जनार्दन गुरागाई, कानूनका उपसचिव पुस्करराज नेपाल लगायतको टोली छलफलमा बसेको थियो ।

सामान्यमा लामो समय रहेर स्वास्थ्यमा प्रवेश गरेको लिष्ट पुन स्वास्थ्यमा अड्किएपछि कर्मचारीहरु भने निरास भएका छन् । उनीहरुले सामान्यबाट आएको लिष्ट सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्रराज कार्की, नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वलकुमार शर्मा, नेपाल स्वास्थ्यकर्मी संघका सहअध्यक्ष ओम उपाध्याय, राष्ट्रिय स्वास्थ्यकर्मी संघको सचिव हिमालय तिवारी लगायतले स्वास्थ्य मन्त्रालय पुगि अधिकारीहरुलाई भेटेर लिष्ट सार्वजनिक गर्न माग गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *