बाह्र बर्षीया छोरीको मिर्गौला फेल, उपचारका लागि दाता खोज्दै मजदुर आमाबाबु

पोखरा, १८ वैशाख । यस्तो सुन्दा जो कोहीलाई नै अफ्टेरो लाग्छ । १२ वर्षकै उमेरमा आफ्नो कल्कलाउँदो छोरीको दुबै मिर्गौला फेल भएपछि बाबु बीरबहादुर यतिखेर ठूलो चिन्तामा छन् ।

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट स्थायी बसोबास भई हाल पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङ बसी दैनिक मजदुरीबाट जीवनयापन गर्दै आएका वीरबहादुर र उनकी श्रीमती सीतालाई यतिखेर छोरी कल्पनाको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।

“छोरीको उपचारमा अहिलेसम्म रु १० लाख जति खर्च लागिसक्यो, यही पनि ऋणधन तथा आफन्तको सहयोगबाट गरेका हौँ”, उनले भने, “खै चिकित्सकले सम्पूर्ण उपचार गर्न अझै रु २५ लाखभन्दा बढी लाग्ने भनेका छन्, उपचार खर्च कसरी जुटाउने हो हामी निकै अन्योलमा छौँ ।”

चिकित्सकले आफन्तबाट नै मिर्गौला प्रत्यारोपण गर्न पाएमा भने केही खर्च कम लाग्ने भनेको उनले बताए । अचानक स्वास्थ्यमा समस्या आएपछि पुन दम्पतीले कल्पनाको काठमाडौँस्थित किष्ट अस्पतालमा झण्डै दुई महीना भर्ना गरेका थिए । उक्त क्रममा नै दुवै मिर्गौला खराब भएको थाहा भएको थियो ।

सामान्य मजदुरी गर्दै आएको आफूहरूको परिवारमा छोरीलाई अत्यधिक खर्चिलो रोगले च्यापेपछि रातदिन उपचारकै कुराले पिरोलिरहेको उनले दुखेसो पोखे । असल मन भएकाहरुको सहयोग पाएमा आफूलाई छोरी बचाउन सकिने आशा रहेको बताउँदै वीरबहादुरले सहयोगदातालाई आफ्नो मोबाइल नं ९८२५१४२१२० मा सम्पर्क गरेर वा आफ्नै नाममा रहेको मुक्तिनाथ विकास बैंकको ००५२१६००३६५१९००००००१ नं खातामा सहयोग गरिदिन अनुरोध गरेका छन् ।

कल्पना पोखरा महानगरपालिका–३३ भरतपोखरीको कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन् । उनका दुई दिदी र एक भाइ पनि सोही विद्यालयमै पढ्छन् । उनको पोखरास्थित गण्डकी अस्पतालको मेडिकल वार्डको ४ नं बेडमा उपचार भइरहेको छ ।

कल्पनाका दुवै मिर्गौलामा समस्या आई उपचार गरिरहँदा उनका साथीभाइका साथै समग्र विद्यालय परिवार पनि यतिखेर चिन्तामा छ । उपचारमा केही भने पनि सहयोग होस् भन्दै विद्यालयका शिक्षक तथा विद्यार्थीको सहयोगमा सङ्कलित रु २८ हजार सहयोग रकम मङ्गलबारै विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले र सहायक प्रधानाध्यापक श्रीधर आचार्यले अस्पतालमा नै पुगी उनका बुबा वीरबहादुरलाई हस्तान्तरण गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *