बरदान बन्यो निःशुल्क स्वास्थ्य शिविर

ध्रुवसागर शर्मा


म्याग्दी, २१ चैत । यसै त उराठ र पट्यारलाग्दो बुढ्यौली, त्यसमा पनि आँखाले देख्न छोडेपछि घरको चौघेराभित्र कैद भएर बस्नु पर्दाको पीडा कम दुःखदायी हुँदैन । यस्तै, दुःख र पीडामा थिइन् म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कुइनेमंगलेकी ७१ वर्षीया सश्रुङ्गा छन्त्याल ।

दुर्गम कुइेमंगलेबाट दुई दिनको समय लगाएर मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविरमा आएकी ७१ वर्षीया छन्त्यालले बुढेसकालमा छर्लङ्ग आँखा देख्न पाएकामा खुशी व्यक्त गरिन् । “विगत तीन वर्षदेखि दुइवटै आँखा राम्रोसँग देख्दिँनथें,” छन्त्यालले भनिन – “अप्रेशन गरेपछि त छ्याङ्गै देख्ने भएँ ।”

निकै कष्टपूर्ण तरीकाले तीन वर्ष बिताएकी निउरेको दैनिकीमा अब भने परिवर्तन आएको छ । दैनिकीमा परिवर्तन आएसँगै उनको अनुहारमा मुस्कान र मनमा खुशी पनि फर्किएको छ । उनी पुनः आँखा देख्नसक्ने भएकी छन् । यो खुशी उनले म्याग्दीको सदरमुकाम बेनीबजारमा गत साता सम्पन्न तीन दिने निःशुल्क आँखा शिविरबाट प्राप्त गरेकी हुन् ।

‘हामी नेपाली’ काठमाडौँको आयोजना, नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोग, बेनीका विभिन्न लायन्स क्लब, नेपाल रेडक्रस सोसाइटी म्याग्दी र आर्ट फाउण्डेसन काठमाडौँको व्यवस्थापनमा सम्पन्न निःशुल्क आँखा शिविरबाट १ हजार ६ सय जनाभन्दा बढी आँखाका बिरामीहरु लाभान्वित भएका छन् । ती मध्ये २०० भन्दा बढी बिरामीहरु ७० वर्ष पार गरेकाहरु थिए । शिविरमा ८२ जना मोतियाबिन्दु भएका बिरामीहरुको निःशुल्क शल्यक्रियासमेत गरिएको थियो ।

तीन वर्ष पछि आफ्ना आफन्त र उज्यालो संसार देख्न पाएपछि छन्त्यालले खुशी हुँदै भनिन् – “यो उमेरमा पनि मैले अर्को जन्म पाएँ ।”

छन्त्याल जस्तै बेनी नगरपालिका–५ पुलाचौरकी ५२ वर्षीया मना परियार, मंगला गाउँपालिका २ मिठौलाकी ७२ वर्र्षीया मैती किसान लगायतले नयाँ दृष्टि पाउएका छन् । आँखाको शल्यक्रिया लगत्तै नजीकै रहेका आफन्तसँग हाँसो साटेपछि चिकित्सक र स्वास्थ्यकर्मीसमेत दङ्ग परेका थिए ।

आँखा देख्ने भएपछि ७० वसन्त पार गरेका वृद्धवृद्धाहरुले चिकित्सकहरुलाई ‘भगवान्को रुप’ भनेर प्रशंसा गरेका थिए । बेनी नगरपालिका–५ पुलाचौरकी ५२ वर्षीया मना परियारले १३ वर्षपछि आफूले पूर्ण रुपमा आँखा देखेको बताइन् । परियारले भनिन – “उहाँहरु ९चिकित्सक० भगवानकै रुप बनेर आउनुभयो । म १३ वर्षपछि पूर्णरुपले आँखा देख्न सक्ने भएँ ।”

त्यसैगरी, मंगला गाउँपालिका–२ मिठौलाकी ७२ वर्षीया मैती किसान विगत सात वर्षदेखि मोतियाबिन्दुका कारण अँध्यारो जिन्दगी बाँचिरहेकी थिइन् । अहिले आँखा देख्ने भएपछि चिकित्सक र शिविर आयोजकलाई ‘मेरा लागि त देउतै आए’ भनेर उनले आशिक समेत दिइन् ।

बुढ्यौलीका कारणले आँखाको दृष्टि कमजोर भएका कयौं बिरामीहरुले पनि चश्मा पाएपछि पहिलाको भन्दा राम्रो देख्न थालेको प्रतिक्रिया दिए ।

“बन्द भएको आँखा खोल्ने डाक्टर भगवान् हुन्, उहाँहरूलाई सधैं राम्रो हुन्छ,” शल्यक्रियामा संलग्न चिकित्सकहरूलाई आर्शिवाद दिँदैं ७९ वर्षीया धनमती परियारले भनिन् ।

म्याग्दीमा पछिल्लो समय विभिन्न सङ्घसंस्था र व्यक्तिहरुले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने क्रम बढेसँगै स्थानीय वृद्धवृद्धा र विपन्न व्यक्तिहरु लाभान्वित भएका छन् । गत फागनुमा म्याग्दी पोखरा चौतारीको आयोजना, ज्यामरुककोट समाज नेपाल र बेनी नगरपालिका–२ वडा कार्यालयको सहआयोजनामा ज्यामरुककोटका भकुण्डेमा सम्पन्न विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ जना लाभान्वित भएका थिए ।

शिविरमा ४१८ जना महिला र १८७ जना पुरुषले स्वास्थ्य जाँच गराएका थिए । तीमध्ये २०७ जना बिरामीले विशेषज्ञ चिकित्सकहरुबाट उपचार र सल्लाह प्राप्त गरेका शिविरका संयोजक गोपाल घिमिरेले जानकारी दिए ।

संयोजक घिमिरेका अनुसार २७ जना बिरामीहरुलाई पोखरामा नै बोलाएर उपचार गरिएको छ । शिविरमा गौश्वारा, विमिराबोट, तमाने, भकुण्डे, फापरखेत, खवरा, बगरफाँट लगायत बाग्लुङ जिल्लाको चनौटे, पन्चासे र मालिकाबाट समेत बिरामीहरु आएका शिविरको सहआयोजक संस्था ज्यामरुककोट समाज नेपाल काठमाडौँका अध्यक्ष रामबहादुर कार्कीले बताए।

वर्षौदेखि पाठेघरको समस्याबाट पीडित जमुना घिमिरे स्त्रीरोग विशेषज्ञ डा छममाया पुनबाट पाएको सल्लाहले सन्तुष्ट देखिन्छिन् । घिमिरेले भनिन् – “यति राम्रोसँग पहिला कसैले पनि जाँच गरेका थिएनन् ।”

म्याग्दीमा एक वर्षको अवधिमा १४ वटा नि:शुल्क स्वास्थ्य शिविरहरु सम्पन्न भएको छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *