एनएबीएच मान्यता पाएसंगै विश्वस्तरीय अस्पतालको सूचीमा पर्‍यो मेडिसिटी

काठमाडौँ, १४ चैत । नेपाल मेडिसिटी अस्पतालले भारतको नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनएबीएच) मान्यता पाएको छ ।

एनएबीएच मान्यता पाएसंगै मेडिसिटी विश्वस्तरीय अस्पतालहरुको सूचीमा आफूलाई उभ्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा एनएबीएचका प्रमुख कार्यकारी अधिकृत डा हरिश नाडकर्मीले मेडिसिटी अस्पतालका कार्यकारी निर्देशक ममता प्रसादलाई एनएबीएच प्रमाणपत्र हस्तान्तरण गरे ।

मेडिसिटीले गुणस्तरीय सेवा, जनशक्ति व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामीमैत्री पूर्वाधार लगायतका मापदण्ड पुरा गरेपछि सो प्रमाणपत्र पाएको हो ।

एनएबीएच इन्टरनेशनल सोसाइटी फर क्वालिटी इन हेल्थ केयर( इस्क्वा)को सदस्य एवं एसियन सोसाइटी फर क्वालिटी हेल्थ केयरको कार्यकारी बोर्डमा रहेको संस्था हो । इक्वाले बेलायत, अष्टेलिया, क्यानडा लगायत १२ वटा देशको एक्रिडिटेशन कार्यक्रम सरह विश्वभरका स्वास्थ्य संस्थालाई मान्यता प्रदान गर्छ । एनएबीएचले भारतका १७ हजार भन्दा बढी अस्पतालमध्ये ५९२ वटालाई मान्यता दिएको छ अन्यमुलुकमा फिलिपिन्स पछि नेपाललाई यो मान्यता दिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको अस्पतालले अन्तारष्ट्रिय रुपमा मान्यता पाउनु खुसीको कुरा रहेको बताए। उनले नेपाली अस्पतालले पनि अन्तराष्ट्रिय विश्वास र मान्यता पाउनु गर्व गर्न लागयक विषय भएको पनि बताए।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले प्रगति गर्दै गएको कुरा यसले पनि पुष्टि गरिरहेको बताए।

अस्पतालका अध्यक्ष उपेन्द्र महतोले सेवा सुरु गरेको छोटो समयमा यो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताए। उनले उपचारका नाममा विदेशी रहेको नेपाली रकम रोक्न आफ्नो अस्पताल केही हदसम्म सफल भएको पनि दावी गरे।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *