चेपाङ बालबालिका कुपोषणको शिकार

76
Shares

भरतपुर, ७ चैत । चितवनको इच्छाकामना गाँउपालिका–१ थाप्राङकी माया चेपाङका १२ जना सन्तान मध्ये दुई जनाको सानैमा ज्यान गयो ।

जिल्ला सदरमुकाम भरतपुरदेखि एक दिन पैदल दूरीमा रहेकी मायाका एक छोरा र एक छोरी महिनौ थला परे । तीन वर्षअघि दुई वर्षको छोरा बिरामी भएपछि लामो समय धामिझाक्रीकोमा जाँदा पनि छोरालाई सन्चो भएन । पछि स्वास्थ्य संस्थामा लगेपछि मात्र थाहा भयो छोरालाई कुपोषण भएको रहेछ ।

तर उनले छोरा बचाउन सकिनन । स्वास्थ्य संस्था पुगिसकेपछि मात्र आफ्ना सन्तानले पोषिलो खाना खान नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको उनलाई थाहा भयो । उनका १२ सन्तानमध्ये ७ छोरी र ४ छोरा छन् । उनको जेठी छोरीबाट पनि पाँच सन्तान जन्मिसकेको छ । उनको कान्छो छोरा साढे ४ वर्षको भयो ।

“गाँउमा अझै पनि धेरै सन्तान जन्माउने चलन छ”, उनले भने, “खाने कुराको अभावकै कारण सानैमा बच्चा मर्ने गरेका छन् ।” इच्छाकामना गाउँपालिका–१ गोलयरकी मैबली चेपाङ ४९ वर्षकी भइन् । उनको काखमा छ महीनाको सन्तान छ । उनका १२ जना सन्तानमध्ये तीन जनाको मृत्यु भइसकेको छ ।

उनीहरुको सानैमा मृत्यु भएको हो । तर के कारणले आफ्ना सन्तानको मृत्यु भएको भन्नेमा उनी अनविज्ञ छन् । इच्छाकामना गाउँपालिका–१ कोलभन्ज्याङकी साइलीमाया चेपाङको पनि दुई सन्तानको सानैमा मृत्यु भएको छ । “सानैमा रोग लाग्यो साइलीमायाले भनिन्”, के कारणले मृत्यु भयो भन्ने म आफैलाई थाहा छैन् ।” उनको साथमा चार सन्तान छन् । उनीहरुका सन्तान जस्तै अधिकांश चेपाङ बस्तीमा बाल मृत्युदर बढ्दो छ । चेपाङ बस्तीमा बाल मृत्युदर बढ्नुको प्रमुख कारण कुपोषण हो ।

भूबनोट र खाने बानीमा भएको समस्याका कारण बाल मृत्युदर बढेको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर खड्काले बताए। उनका अनुसार कुपोषणको मुख्य दोष गरीबी नै हो । उनी भन्छन्, “गरीबीका कारण पेटभरी खान पाउने अवस्था छैन, एउटै घरमा आठ÷दश सन्तान समेत हुने गरेका छन् । अनि कसरी पोषिलो खाना खान पाउनु ? ।”

इच्छाकामना–१ छाप्राङकी कालिमाया चेपाङ भन्छिन्, “दिनभर मरिमरी काम ग¥यो बिहान बेलुकाको छाक टार्न धौधौ हुन्छ । अनि कसरी बालबालिकालाई पोषणयुक्त खाना खुवाउने रु” घरमा जे छ त्यही खुवाउने गरेको बताउँदै उनले भनिन्, “स्वास्थ्य संस्था नजिक नभएकाले पनि आफ्ना बालबालिकामा के रोग लाग्यो भन्ने जानकारी पाउन समस्या भएको छ । चौबीसै घन्टा हाडछाला माटोमा घोटे पनि दुई छाक टार्न पुग्दैन ।”

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर कृष्णप्रसाद पौडेलले समग्र जिल्लाको तथ्याङकअनुसार चार बालबालिका मध्ये एक जनालाई कुपोषण हुने गरेको बताए । “कुपोषण भएपछि रोगसँग लड्ने क्षमता घट्छ, उनले भने, “तर बालबालिकाको मृत्यु हुने अन्य कारण पनि हुन सक्छन् ।” चितवनको पहाडी चेपाङ बस्तीमा कुपोषणको समस्या व्याप्त रहेको उनले बताए ।

पोषिलो खानेकुरा, सहज रुपमा स्वस्थ्य उपचार नपाएकै कारण बालबालिका कुपोषणको सिकार भएको डा पौडेलको भनाइ छ ।
गाउँको खाना पोषिलोभन्दा पनि छाक टार्नका लागि खाने गरेको उहाँको भनाइ छ । नेपालको पोषणसम्बन्धी राष्ट्रिय नीतिले सन् २०२५ सम्म नेपालमा कुपोषणको दर शून्यमा झार्ने भन्दै सरकारी तथा गैरसरकारी तबरबाट विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिए पनि चितवनको पहाडी चेपाङ गाउँका बालबालिकाको अवस्थाले राष्ट्रिय लक्ष्य पूरा गर्न निकै चुनौती हुने सरोकारवालाको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *