रुपन्देही : पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

रुपन्देही, २९ फागुन । रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् ।

महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार नियोजन सङ्घ, बुटवलकी नर्स बिष्णु गुरुङले जानकारी दिइन् । उनीहरु २० देखि ५० वर्ष उमेर समूहका छन् ।

सैनामैना नगरपालिका–३ को आयोजनामा पर्रोहा हेल्थ पोष्टमा सञ्चालन गरिएको तीन दिने निःशुल्क महिला स्वास्थ्य शिविरमा कूल ४११ महिलाले स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष रत्नबहादुर पौडेलले जानकारी दिए । परीक्षण गराएकामध्ये २६६ महिलालाई औषधी वितरण गरिएको बताइएको छ ।

नेपालका सामाजिक संरचनाका कारण महिला लजाउने हुनाले पाठेघर र स्तनको क्यान्सर हुने गरेको उल्लेख गर्दै नर्स पदमा श्रेष्ठले भनिन्, “विशेष गरी यौन रोगमा अझै पनि महिला खुलेर समस्या बताउन नसक्ने अवस्थामा छन् ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *