कुष्ठरोग निवारण चुनौती बन्दै

– विष्णु नेपाल

काठमाडौँ, १४ माघ । गत वर्ष देखापरेका नयाँ कुष्ठरोगीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा भेटिएका थिए । विसं २०७४ मा देशभर ३१ हजार ८७ जना कुष्ठरोगी भेटिएकामध्ये एक हजार २८६ जना बिरामी प्रदेश नं २ मा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसपछि प्रदेश नं ५ मा ९०५ जना बिरामी देखिएका थिए । तीमध्ये एक हजार ४३६ महिला र १४ वर्ष मुनिका २७८ जना बिरामी बालबालिका रहेका थिए । विसं २०७३ मा ३२ हजार १५ कुष्ठरोगका नयाँ बिरामी भेटिएका थिए ।

चिकित्सकका अनुसार आँखाले देख्न नसक्ने ‘माइक्रोब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको रोगलाई कुष्ठरोग भनिन्छ । छाला तथा स्नायुलाई यसले असर गर्दछ । सन् १८७३ मा नर्वेका वैज्ञानिक जि ए ह्यानसनले कुष्ठरोगको किटाणु पहिचान गरी पत्ता लगाएका थिए ।

विशेष गरी नेपालको तराई–मधेशमा यो रोगको जोखिम रहेको छ । जनस्वास्थ्यको प्रमुख समस्या नरहे तापनि कुष्ठरोग निवारणमा नेपाल सरकारलाई प्रमुख चुनौती रही आएको छ ।

‘कुष्ठरोगको कार्यक्रमको गन्तव्य : गलत धारणा र विभेदको अन्त्य’ भन्ने नाराका साथ आइतबार (हिजो)विविध कार्यक्रम आयोजना गरी ६६आँै विश्व कुष्ठरोग दिवस मनाइयो । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाद्वारा आयोजित कार्यक्रममा नेपालका विभिन्न १८ जिल्लामा कुष्ठरोग निवारण हुन नसकेको जानकारी दिइयो ।

शाखाका प्रमुख डा रवीन्द्र बाँस्कोटाका अनुसार प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम बिरामी भएको अवस्थालाई निवारण भन्ने गरिन्छ । निवारण घोषणा गरिएको वर्ष १२ जिल्ला मात्र निवारणको स्थितिमा थिएन तर अहिले यो सङ्ख्या बढेर १८ मा उक्लिएको हो ।

सरकारले सन् २०२० को अन्त्यसम्म सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको थियो । ती १८ जिल्लामा सो रोगको प्रकोप दर एक प्रतिशतभन्दा माथि उक्लिएको शाखा प्रमुख डा बाँस्कोटाले जानकारी दिए । शाखाले हालसम्म एक लाख ९० भन्दा बढी कुष्ठरोगी निको भइसकेको जनाएको छ । सोही रोगका कारण करीब ३१ हजार अपाङ्गतासमेत हुन पुगेका छन् । कार्यक्रममा उनले कुष्ठरोग निवारणका लागि उपचारात्मक, जनचेतना तथा पुनःस्थापनाका विशेष कार्यक्रम सञ्चालन गरिराखेको जानकारी दिए ।

शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखा पर्नु कुष्ठरोगको शुरुको चिह्न मानिन्छ । अनुहार र कानको लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुनु, आँखी भौ झर्नु, हात तथा खुट्टा खुम्चिँदै जानु पनि कुष्ठरोगको लक्षण भएकोे शाखाले जनाएको छ । बढी किटाणु भएको कुष्ठरोगलाई एमबी र कम किटाणु भएकालाई पिबी भन्ने गरिन्छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले बढी किटाणु भएका बिरामीले १२ महीना र कम किटाणुले छ महीना नियमित औषधि सेवा गरेमा कुष्ठरोग निवारण हुने बताउँछन् ।

उनी भन्छन्, “बहु औषधिको एक मात्राले मात्र ९९ प्रतिशत किटाणुलाई निष्क्रिय बनाइदिन्छ ।” स्वास्थ्य मन्त्रालयले आफ्ना सबै स्वास्थ्य संस्थामार्फत् निःशुल्करुपमा कुष्ठरोगको औषधि वितरण गर्दै आएको छ । साथै अस्पताल भर्ना हुँदा रु एक हजार यातायात खर्च उपलब्धसमेत गर्दै आएको जनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *