बाजुरा : २१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

 

बाजुरा, १५ कात्तिक । जिल्लामा ६ महीनादेखि पाँच वर्षमुनिका २१ हजार बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । यसका साथै बालबालिकाको पाखुराको नाप लिइने र बालभिटासमेत वितरण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । सोका लागि जिल्लामा २६७ महिला स्वास्थ्य स्वयंसेविका र ११० स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भिटामिन ‘ए’ र जुकाको औषधिसँगै पाँच वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अहेव रामचन्द्र यादवले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ को कमीले बालबालिकालाई रतन्धो, कुपोषण हुने, दीर्घकालीन झाडापखाला लाग्ने, दादुरालगायतका रोग लाग्न नदिन कार्यक्रम सञ्चालन गरिएको हो ।

सरसफाइको कमीले बालबालिकालाई संक्रमण भई जुका पर्ने भएकाले जुका पर्न नदिन जुकाको औषधि खुवाइँदैछ । भिटामिन ‘ए’ को कमीका कारण हुने बाल मृत्यु रोक्न सरकारले विसं २०५० देखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सरकारले छ÷छ महीनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *