खाजा खर्च जोगाएर औषधालयका लागि मेशिन खरिद

 

कञ्चनपुर, ११ कात्तिक । खाजा खर्च जोगाएर कञ्चनपुरको झलारी आयुर्वेदिक औषधालयका लागि मेशिन खरिद गरिएको छ । औषधालय व्यवस्थापन समितिका पदाधिकारीले बैठक खाजाका लागि उपलब्ध हुने भत्ताको रकम खर्चेर मेशिन खरिद गरेका हुन् ।

भत्ताको रकमबाट औषधालयका लागि रु २० हजार मूल्य पर्ने अक्सिजन ब्लड सर्कुलेट्री मेशिन र रु १० हजार मूल्य पर्ने इलेक्ट्रिक म्याट खरिद गरिएको औषधालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रप्रसाद पाण्डेयले बताए । “खाजा भत्ताको रकम सङ्कलन गरी भारतबाट औषधालयका लागि आवश्यक पर्ने मेशिन खरिद गरी हस्तान्तरण गरेका छौँ”, उनले भने ।

उपलब्ध गराइएका मेशिनले फिजियोथेरापी गर्नमा सघाउ पुग्ने औषधालयका वैद्य दिवाकर जोशीले बताए । औषधालयमा नगर प्रमुख संरक्षक रहेको सात सदस्यीय व्यवस्थापन समिति रहेको छ । औषधालयमा आयुर्वेदिक औषधिको सहयोगमा बिरामीको उपचार हुने गरेको छ । औषधालयले पञ्चकर्म सेवासमेत सञ्चालन गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *