तल्लो पेट दुखेर आत्तिएकी बालिकाको एक्सरे गर्दा तीनवटा मिर्गौला भेटियो

चितवन, ११ कात्तिक । सामान्य त मानिसको शरीरमा दुईवटा मिर्गौला हुन्छ । तर चितवनमा तीन वटा मिर्गौला भएकी एक बालिका भेटिएकी छन् ।

भरतपुर महानगरपालिका – ११ स्थित गणेशस्थान बस्ने १२ बर्षीया बालिका आरती विकको शरीरमा तीन वटा मिर्गौला भेटिएको हो । चिकित्सकका अनुसार उनको तीनवटै मिर्गौला काम गर्ने अवस्थाकै हो ।

गत साता तल्लो पेट दुखेर उपचारका लागि स्थानीय एक अस्पतालमा पुगेकी बालिकाको एक्सरे गर्दा तीन वटा मिर्गौला भएको पत्ता लागेको थियो । तीन वटा मिर्गौला भएको पाइएपछि उनलाई क्लिनिकका स्वास्थ्यकर्मीले पुरानो मेडिकल कलेज रिफर गरेका थिए ।

‘हो उनको दायाँ तर्फ दुईवटा र बायाँ तर्फ एउटा मिर्गौला रहेका छन् । र ती तीनवटै मिर्गौलाले काम गरिरहेका थिए,’ पुरानो मेडिकल कलेजका युरोलोजिष्ट डा. सुदिप केसीले भने ।

उनका अनुसार तेस्रो मिर्गौला दाँया मिर्गौलाको केही तलपट्टी केही सानो आकारमा रहेको छ । त्यो मिर्गौलाले पनि अरु मिर्गौलाले जस्तै रगत छान्ने र पिसाव बनाउने काम गरेपनि अहिले समस्या सोही मिर्गौलामा देखिएको छ ।

‘सो मिर्गौला अलिकति सुन्निएको जस्तो थियो । त्यसमा जोडिएको पिसाव नलिहरु साँघुरिदै जाँदा यस्तो भएको हो । हामीले गत शुक्रबार नै सानो अप्रेशन गरी सो समस्या हटाउने प्रयास गरेका छौँ । सम्भवत एक दुई दिन पछि ठिक भएर डिस्चार्ज हुनसक्छ,’ डा. केसीले भने ।

डा. केसीले प्रति एक लाखमा एक जनामा यस्तो समस्या आउन सक्ने बताए ।’ कसैको एउटा मिर्गौला हुन्छ कसैको तीनवटा कसैको चार वटा पनि मिर्गौला हुनसक्छ । तर यस्ता केशहरु दुर्लभ हुन् । प्रति लाख जनसंख्यामा एक जनामा हुनसक्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *