गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा १२८ स्लाइसको सिटिस्क्यान मेसिन

नयाँ मेसिनमा एक जना बिरामीको सिटिस्क्यान गराउने तयारी

बुटवल, ९ कात्तिक । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा १२८ स्लाईस सीसीको सिटी स्क्यान मेसिन भित्रिएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोगमा सो उपकरण भित्रिएको हो ।

उपकरणले ‘सिटिए कोरोनरी’ स्पष्ट रुपमा देखाउने र मुटुमा जाने नसामा देखिने समस्या पत्ता लगाउन सहज हुने अस्पतालका रेडियोलोजिस्ट डा अजिज उल्लाहले जानकारी दिए ।

उनले मुटुसँग जोडिएका नसाको अवस्थाका बारेमा पनि सिटी स्क्यानबाट जानकारी लिन सकिने उल्लेख गर्दै नयाँ मेसिनबाट करीब तीन सेकेण्डमा नै इमेज लिन सकिने बताए ।
रु सात करोड लगानीमा भित्र्याइएको उक्त उपकरणबाट मुटुबाहेक, मिर्गौला, फोक्सो, टाउको, घुँडा लगायत शरीरको विभिन्न अङ्गको सिटी स्क्यान गर्न मिल्ने बताइएको छ ।

त्यसो त यति ठूलो पावरको सिटिस्क्यान मेसिन रुपन्देही क्षेत्रमा भित्र्याउने यो अस्पताल पहिलो भएको छ । रुपन्देहीको क्रिमसन, एपोलो र भैरहवा मेडिकल कलेजमा जम्मा १६ स्लाइसको सिटी स्क्यान उपकरण रहेको छ ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलका अध्यक्ष एजाज आलमले गुणस्तरीय स्वास्थ्य सेवाका लागि उपकरण भित्रिएको जानकारी दिँदै उपकरण सञ्चालनका लागि जनशक्तिको व्यवस्थापन पनि भएको बताए । उनले अमेरिकाको जी कम्पनीबाट एक महीनाअघि मात्रै अस्पतालमा भित्रिएको उक्त उपकरण चार दिनदेखि सञ्चालनमा रहेको समेत जानकारी दिए ।

मुटु अस्पतालमा गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी, रुपन्देही, बाँके, बर्दिया, रोल्पा, रुकुमलगायत जिल्लाबाट सेवाग्राही आउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *