सदुरपश्चिममा स्क्रप टाइपस : ७६ जनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण
डडेल्धुरा, ७ कात्तिक । सुदूरपश्चिम प्रदेशमा स्क्रप टाइपस रोगको संक्रमण फैलिन थालेको छ । गत असोजको तेस्रो साता पहिलो पटक देखा परेको यो रोगको संक्रमण दुई साता नवित्दै ३३ जनामा देखा परेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले रोगको संक्रमण अझ बढी भएको हुनसक्ने आशंका गरेको छ ।
निर्देशनालय प्रमुख डा गुणराज अवस्थीले अहिले देखिएको संक्रमण संख्या उपक्षेत्रीय अस्पताल डडेल्धुरामा परीक्षणका लागि ल्याइएका केश मात्रै भएको भन्दै अन्य जिल्लाका दुर्गम भेगहरुमा यो संख्या अझ बढी हुन सक्ने बताए ।
उपक्षेत्रीय अस्पताल डडेल्धुराले बैतडीमा ११, बझाङमा १ र डडेल्धुरामा २१ जनामा स्क्रप टाइपस रोग देखा परेको र ज्वरोका विरामीको संख्या दिनहु बढन थालेको भन्दै टेकुस्थित इपिडिमियोलोजी महाशाखासंग २०० थान टेष्ट किट उपलव्ध गराउन पत्र पठाएको छ ।
डा. अवस्थीले सुदुरपश्चिममा यसपटक किटजन्य रोगले सताएको भन्दै आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरे । ‘दार्चुलामा डेंगु देखियो, कालाजार, स्क्रप टाइपस देखियो, मलेरिया देखियो, बाजुराको एकदमै माथि पनि मलेरिया भेटियो त्यसैले किटजन्य रोगहरु पहाड चड्दैछन् । यसमा सबै सचेत हुन जरुरी छ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]