साउनमा प्रयोग गर्नुपर्ने मलेरियाको औषधि गोदाममै थन्कियो

96
Shares
  • गंगराज पण्डित

बाजुरा, २६ असोज । मलेरिया रोकथामका लागि छर्किनुपर्ने औषधि तीन महीनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । जिल्लाको उत्तरीभेग बूढीनन्दा नगरपालिका कोल्टीस्थितको प्राथमिक स्वास्थ्य केन्द्रमा गत साउनदेखि ती औषधि थन्किएका हुन् ।

उक्त औषधि साउनमा छर्किनुपर्ने भए पनि बजेट नभएको भन्दै तीन महीना बितिसक्दा पनि औषधि छर्न नसकेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सत्य शाहीले बताए ।

मलेरिया प्रभावित क्षेत्रमा छर्किन रु तीन लाख रकम आवश्यक भएको र नगरपालिकाले रकम नदिँदा ती औषधि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै रहेको शाहीले बताए । “साउनमा छर्किएको भए रोकथाम हुन्थ्यो, अहिले दैनिक मलेरियाको बिरामी आइरहने समस्या छ ।” डा शाहीले भने ।

तराईमा मात्रै देखा पर्ने मलेरिया रोग बाजुराको बूढीनन्दा नगरपालिका १, ६ र ५ वडामा देखा परेपछि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाएको थियो । प्रयोशालाले पनि मलेरिया भएको प्रमाणित गरेपछि मलेरिया रोकथामका लागि सेभ द चिल्ड्रेनको सहयोगमा प्रभावित बस्तीमा छर्किन पाँच वटा ठूलो ड्रममा औषधि पठाएको थियो । लाखौँ मूल्यको औषधि त्यतिकै खेर जाने खतरा देखिएको छ ।

मलेरिया गर्मी र वर्षात्को समयमा फैलन्छ । चैतदेखि जेठसम्ममा छर्कियो भने औषधिले तीन महीना काम गर्छ । साउनमा छर्कियो भने भदौ, असोज र कात्तिकसम्मका लागि मलेरिया रोग स्थानीयमा सर्न सक्दैन तर, औषधि नछर्किँदा दैनिक एक÷दुई जना मलेरियाका बिरामी अहिले पनि उपचारमा आउने गरेको प्रमुख डा शाहीले जानकारी दिए ।

नगरपालिकामा कहिले कार्यकारी अधिकृत र कहिले लेखापाल नभएको कारण देखाई बजेट नदिएको स्थानीय जनप्रतिनिधिको गुनासो छ । बूढीनन्दा नगरपालिका कार्यकारी पुरुषोत्तम न्यौपाने भन्नुहुन्छ, “म बिदामा गएको थिएँ, भर्खर मात्र आएको हुँ, यसबारेमा मलाई जानकारी छैन ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *