प्रधानमन्त्री ओली र डा.केसीबीच आज बालुवाटारमा छलफल हुँदै
काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीलाई बालुवाटार बोलाएका छन् । सरकार र डा केसीबीच गत १० साउनमा भएको ९ बुँदे सम्झौँताको विषयमा छलफल गर्न प्रधानमन्त्रीले डा केसीलाई बालुवाटार बोलाएका हुन् ।
डा. केसीका सहयोगी अभिशेकराज सिंहले बालुवाटारबाट आज विहान ११ बजेका लागि भेट तय भएको जानकारी दिए । उनले डा केसी र सरकारबीच भएका सम्झौँता र त्यसका कार्यान्वनयका सम्वन्धमा छलफल केन्द्रीत हुने बताए । डा. केसीलाई भेटका लागि प्रधानमन्त्रीका प्रमुख स्वकीयसचिवले बोलाएको समेत सिंहले उल्लेख गरेका छन् ।
चिकित्सा शिक्षा सुधारका लागि भन्दै १५ पटक अनशन बसेका डा केसीले गत १० साउनमा ९ बुँदे सम्झौँता गर्दै तोडेका थिए ।
अनसन तोडेपछि उपचारमा रहेका डा. केसीले गत मंगलबार डिस्चार्ज हुने दिन नै पत्रकार सम्मेलन गरी सरकारले सम्झौँता कार्यान्वयनमा ढिलाई गरेको प्रतिक्रिया दिएका थिए ।
त्यस लगत्तै प्रधानमन्त्री कार्यालयबाट बोलावट हुनुलाई सकारात्मक संकेतको रुपमा हेरिएको छ।
सम्पर्क इमेल : [email protected]