निजामती कर्मचारी अस्पतालका बोर्ड सदस्यहरु : वेव साइटमा एउटा, बैठकमा अर्कै
काठमाडौँ, ९ असार । डा. किरण रेग्मी स्वास्थ्य मन्त्रालयको सचिवबाट निबृत्त भएको ७ महिना पुग्न आट्यो तर निजामती कर्मचारी अस्पतालको बोर्ड सदस्यको सूचीमा अहिले पनि उनकै नाम र फोटो छ, त्यो पनि स्वास्थ्य सचिवकै रुपमा ।
यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा राजिव गौतम सचिव भएर आएको साढे दुई महिना नाघिसक्यो । निजामती अस्पतालको बोर्ड सदस्य सूचीमा कानून सचिवको रुपमा कोमलशाली घिमिरेकै नाम तथा फोटो राखिएको छ ।
मुख्य सचिव लोकदर्शन रेग्मी अध्यक्ष भएको अस्पतालको बोर्डमा सदस्यका रुपमा राखिएका अरु मन्त्रालयका सचिवको नाम र फोटो समेत अपडेट गरिएका छैनन् । अर्थ मन्त्रालयमा सचिव हुँदा सदस्य रहेका शंकर प्रसाद अधिकारीको नाम र फोटो अहिले पनि बोर्ड सदस्यमै राखिएको छ । अर्थ मन्त्रालयमा राजन खनाल आएको अढाई महिना भइसकेको छ ।
अचम्म लाग्दो कुरा त यो छ कि बोर्डमा नाम परिवर्तन नगरेपनि बैठकमा भने स्वास्थ्य मन्त्रालयबाट सचिव डा. पुष्पा चौधरी, अर्थ मन्त्रालयबाट सचिव राजन खनाल, कानून मन्त्रालयबाट सचिव राजिव गौतमलाई बोलाइने गरेको छ । तर ती सदस्यहरुले कुनै पनि बैठकमा वेवसाइट अपडेट गर्न अस्पतालका प्रमुख समेत रहेका सदस्य सचिव रहेका अस्पताल मेसु डा. दीर्घराज आरसीलाई भनेका छैनन् ।
आफ्नो संस्थाको वेवसाइट अपडेट गर्ने सन्दर्भमा डा. आरसीको समेत ध्यान पुगेको देखिदैन ।