सूर्तिजन्य पदार्थमा करको दर २१ प्रतिशतले बढ्यो, के मा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले सूर्तिजन्य पदार्थमा करीव २१ प्रतिशतले कर बढाएको छ । अर्थ मन्त्रालयले मंगलबार (हिजोे) सार्वजनिक गरेको आर्थिक विधियक २०७५ ले सूर्तिजन्य पदार्थहरु सिगार, चुरोट, गुड्खा, खैनी पराग जस्ता कच्चा तथा तयारी बस्तुहरुमा लाग्दै आएको करको दर बढाएको हो ।

आर्थिक विधियक २०७४ मा प्रति खिल्ली १२ रुपैयाँ तोकिएको सिगारको करको दर यसवर्षको आर्थिक विधियकले १५ रुपैयाँ पुरयाएको छ । यस्तै फिल्टर नभएको चुरोटमा गत वर्ष प्रतियम ३७४ रुपैयाँ तोकिएको थियो तर यसबर्ष सो दर बढाएर ४५० पुरयाइएको छ ।

यस्तै जर्दा खैनी तथा गुडखा तथा पानमा लाग्दै आएको करको दरमा समेत करीब २० प्रतिशतले बढाइएको छ । सो पदार्थमा गतवर्ष करको दर प्रतिकिलो ४६२ रुपैयाँ तोकिएको थियो । अहिले सो पदार्थमा करको दर बढाएर ५५४ पुरयाइएको छ ।

त्यसो त अर्थमन्त्री डा खतिवडाले हिजो प्रस्तुत गरेको बजेट बक्तव्यमा विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित चुरोट विडी सिगारमा प्रतिखिल्ली २५ पैसा र खाने सूर्ति खैनी गुडखा पान मसलामा प्रति किलोग्राम २५ रुपैयाँका दरले समदरमा स्वास्थ्य जोखिम कर लगाइ असुल उपर गरिने उल्लेख छ । यो अनुसार चुरोटमा थप ५ रुपैयाँ स्वास्थ्य जोखिम कर लाग्न सुरु भएको छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने उत्कृष्ठ कानून बनाएको नेपाल विश्वमै चर्चित छ । तर सूर्तिको करको दर भने अत्यन्तै कम छ ।

नेपालले सूर्तिजन्य पदार्थमा अहिलेसम्म करको दर करीब २८ प्रतिशतमै सिमित गरेको थियो । सूर्तिमा लगाइएको करको यो दर दक्षिण एसियामै पनि सबैभन्दा कम हो । कर कम लाग्दा मूल्यमा कमी हुने र उपभोग बढी हुने देखिएको छ । त्यसैले पनि विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो मुलुकमा सूर्तिमा करको दर कम्तीमा ७० प्रतिशत पुरयाउन सल्लाह दिएको छ । तर सूर्ति उद्योगीहरुको चलखेलका कारणले सरकारले सो सुझाव कार्यन्वयन गर्न सकिरहेको छैन । 

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले यसपटक अर्थ मन्त्री डा खतिवडालाई भेटेरै सूर्तिजन्य पदार्थमा कर बढाउने व्यवस्था मिलाउन आग्रह गरेकी थिइन । उनको आग्रहलाई अर्थमन्त्री डा खतिवडाले सकारात्मक रुपमा लिएको देखिएको छ । यसले सूर्तिजन्य पदार्थको मूल्यबृद्धि हुने र उपभोगमा कमी हुने विश्वास गरिएको छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण अभियानमा क्रियाशिल संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सरकारले सूर्तिमा करको दर बढाएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘हाम्रो अपेक्षा अलि बढी थियो तर १९-२० प्रतिशतको हाराहारीमा कर बढाएको छ । त्यसबाहेक खिल्लीमा समेत २५पैसाका दरले जोखिम कर उठाउने निर्णय गरेको छ । यसलाई सकारात्मक रुपमा लिएका छौँ ।’

द युनियनका डेपुटी रिजनल डाइरेक्टर डा. तारासिंह बमले नेपाल सरकारले सूर्तिजन्य पदार्थमा करको दर बढाउनु तथा चुरोट, बिडी, सिगारका खिल्लीमा छुट्टै जोखिम कर भनेर लिने निर्णयलाई आफूले सकारात्मक रुपमा लिएको बताए । उनले आगामी दिनमा सरकारले यसलाई थप गम्भीरताका साथ लिएर करको दरमा बृद्धि गर्ने अपेक्षा रहेको समेत उल्लेख गरे ।

नेपालमा सूर्तिजन्य पदार्थको सेवनका कारण बार्षिक करीब २५ हजार बढी व्यक्तिको ज्यान जाने गरेको छ । यसलाई नियन्त्रण गर्न सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८, सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०६८, संसोधित निर्देशिका २०७१ समेत जारी गरिसकेको छ । यसको सफल कार्यान्वनय हुने हो भने नेपालले छिटै नै सूर्तिजन्य पदार्थको प्रयोगले हुनसक्ने जोखिमबाट टाढा रहने विज्ञहरुले बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सूर्तिजन्य पदार्थमा करको दर २१ प्रतिशतले बढ्यो, के मा कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *