पोखरामा सार्वजनिक यातायातका चालक र सहचालकको आँखा परीक्षण

पोखरा, १४ फागुन । बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने मुख्य उद्देश्यका साथ आइतबार यहाँ आयोजित सार्वजनिक यातायात साधनका चालक र सहचालकको लागि निःशुल्क आँखा परीक्षण शिविरमा ९७० जनाको आँखा परीक्षण गरियो ।

हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको रजत महोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सय वर्ष पुगेको अवसरमा आयोजना गरिएको आँखा परीक्षण शिविरबाट २० जनालाई थप उपचारका लागि हिमालयन आँखा अस्पताल पठाइएको छ ।

पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा आइतबार बिहान नौदेखि साँझ ५ बजेसम्म सञ्चालित शिविरमा ४०० जनतालाई औषधि र ३०० भन्दा बढीलाई निःशुल्क चश्मा प्रदान गरिएको कार्यक्रम संयोजक विनोद
ढुंगानाले जानकारी दिए।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक गभर्नर धनराज आचार्यले विगत ३० वर्षदेखि निरन्तर सार्वजनिक यातायात चलाउँदै आउनुभएका ६५ वर्षीय गंगाप्रसाद जोशीलाई परीक्षण दर्ता कार्ड प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

एउटा चालकको आँखाले सयौँ यात्रुको आँखाको प्रतिनिधित्व गर्दछ भन्दै उहाँले चालकको आँखा परीक्षणले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष तथा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाहीले सामाजिक उत्तरदायित्व बहनमा लायन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै यस्ता कार्यले निरन्तरता पाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा हिमालयन आँखा अस्पताल पोखराका अध्यक्ष डा दीलबहादुर क्षेत्रीले कर्णाली, गण्डकी र धौलागिरिमा उज्यालो बड्ने उद्देश्यले आजभन्दा २५ वर्ष अघि स्थापना भएको आँखा अस्पतालले विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको बताए ।

हिमालयन आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र महर्जनले चालक अनुमतिपत्र प्रदान गर्दा र नवीकरण गर्दा अनिवार्यरुपमा आँखा परीक्षण गरिनुपर्नेमा जोड दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *