सेवा सुविधा तथा श्रम अधिकारको विषयलाई लिएर पिपुल्स डेन्टलका चिकित्सक तथा कर्मचारी आन्दोलित

एसोसिएसन भन्छ : बार्ता र सहमतिबाट निकास निकालौँ
0
Shares

काठमाडौं, ३० भदौ । सेवा सुविधा तथा श्रम अधिकारको विषयलाई लिएर विगत पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटलमा कार्यरत चिकित्सक तथा कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा रहेका छन् ।

नेपाल डेन्टल एसोसिएसनले सोमबार विज्ञप्ती जारी गर्दै सो आन्दोलनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै बार्ता र सहमतिबाट निकास निकाल्न सम्वन्धीत आग्रह गरेको छ ।

एसोसिएसनका अध्यक्ष डा अजय साह र महासचिव डा प्रदीप भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा अस्पताल तथा कलेज प्रशासनले गत २३ भदौमा सूचना जारी गरी भदौ २४ गतेदेखि लागू हुने गरी कार्यालय समय परिवर्तन गरेको उल्लेख छ।

प्रशासनले नयाँ कार्यसमयअनुसार काम गर्न निर्देशन दिए पनि त्यसपछि कार्यरत चिकित्सक तथा कर्मचारीको सेवा–सुविधा, श्रम अधिकार र आपसी सहमतिलाई पर्याप्त सम्बोधन नगरी कार्यालय समय बढाइएको भन्दै विवाद उत्पन्न भएको उल्लेख छ ।

यस्तै चिकित्सक तथा कर्मचारीले साविकको बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्मको कार्यसमयअनुसार सेवा प्रदान गरेको विषयमा २०८३ भदौ २६ गते सम्पूर्ण चिकित्सकलाई स्पष्टीकरण सोधिएको घटनाप्रति पनि आफ्नो गम्भीर चासो रहेको जनाएको छ।

कुनै पनि स्वास्थ्य संस्था सञ्चालन गर्दा चिकित्सक तथा कर्मचारीको श्रम अधिकार, पेशागत मर्यादा, सेवा–सुविधा तथा कानुनले सुनिश्चित गरेका अधिकारको सम्मान गर्नुपर्ने स्पष्ट धारणा राख्दै एसोसिएसनले प्रचलित श्रम ऐन, कानुन तथा आपसी सहमतिविपरीत एकतर्फी रूपमा निर्णय लागू गर्नु उपयुक्त नहुने बताएको छ ।

पिपुल्स डेन्टल नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनील शर्माको कलेज हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *