सातवटा स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण

धुलिखेल, १ फागुन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ मा रहेको अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले जिल्लाका विभिन्न सातवटा स्थानमा रहेका स्वास्थ्य चौकीलाई चिकित्सा उपकरण एवं हस्पिटल फर्निचर हस्तान्तरण गरेको छ ।

सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला समन्वय समितिको हलमा कार्यक्रम गरी केन्द्रले एचआरडिसी र सिबीएम नेपालको साझेदारीमा सो सामग्री हस्तारण गरेको अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका निर्देशक विकासमान सिंहले बताए ।

“भूकम्पपश्चात विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, बनेपाले सिबिएम र स्वीस सोलिडारीटीको सहयोगमा स्वास्थ्य चौकीको क्षमता अभिवृद्धि गर्ने तथा सर्वसाधारण एवं अपांगता भएका व्यक्तिहरु समेतलाई लक्षित गरी सामग्री हस्तान्तरण गरेका हौँ,” सिंहले भने।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले स्वास्थ्य चौकीका लागि सामग्री उपलब्ध गराईदिएकोमा खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई धन्यवाद दिए।

जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख सुरेन्द्रप्रसाद चौरसियाले गुणस्तरीय स्वास्थ्य सेवामा ती सामग्रीको प्रयोग हुने बताउनुभयो । सो अवसरमा उहाँले स्वास्थ्य चौकीका कर्मचारीलाई सामग्री सदुपयोग गरी गुणस्तर सेवा प्रदान गर्न आग्रह गरे ।

केन्द्रले जिल्लाका महाभारत गाउँपालिकाको घर्तीछाप, चौरीदेउराली गाउँपालिकाको बिर्तादेउराली र पोखरीचौरी बेथानचोक गाउँपालिकाको ढुङ्खर्क, तिमाल गाउँपालिकाको ठूलोपर्सेल, मण्डन देउपुर नगरपालिकाको महादेवस्थान र पाँचखाल नगरपालिकाको साठीघरमा रहेका स्वाथ्य चौकीमा गरी सातवटा स्वास्थ्य संस्थामा रु ३१ लाख ३० हजार ९५५ बराबरको सामग्री हस्तान्तरण गरिएको हो । रासस


Leave a Reply

Your email address will not be published.