स्वास्थ्य संस्थामा प्रसूति गराउँनेलाई अब पाँच हजार भत्ता

284
Shares

सोलुखुम्बु ६ माघ । मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराएवापत गाउँपालिकाले थप प्रोत्साहन भत्ता दिने भएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने आमालाई प्रोत्साहनस्वरुप रु पाँच हजार दिने भएको हो ।

गाउँपालिकाको प्रथम गाउँसभाले सो निर्णय गरेसँगै शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । गाउँपालिका– ३ पञ्चनबाट सो सेवा शुरु गरिएको छ ।

गर्भवती र नवजात शिशुको जीवनरक्षा गर्नु स्थानीय तहको पनि जिम्मेवारी रहने भएकाले घरैमा प्रसूति गराउने प्रथा अन्त्य गर्न गाउँपालिकाले सो काम शुरु गरेको उनको भनाइ छ ।

राईले भने, “स्वास्थ्य संस्थामा प्रसूति गराएको रिपोर्ट पेश गर्ने हरेक आमाले गाउँपालिकाको तर्फबाट रु पाँच हजार पाउँछन्, यो सुविधा प्रदान गर्ने जिल्लाको पहिलो गाउँपालिका हो ।” साविक सात गाविस मिलाएर बनाइएको सो गाउँपालिकामा नौ वटा वडा तथा १९ हजार ६७२ जनसंख्या छ ।

भौगोलिक विकटता रहेको सो गाउँपालिकाका वडा नं ४, ५ र ९ मा सडक सञ्जाल जोडिएको भए पनि जीप सेवासमेत सञ्चालन हुन सकेको छैन ।

स्थानीयवासीले खोटाङको एसेलुखर्क हुँदै ट्र्याक्टरमार्फत सामान ढुवानी गरे पनि सदरमुकाम सल्लेरीलगायत अन्य स्थानमा जानका लागि करिब चार घण्टासम्मको पैदल हिँड्नुपर्ने बाध्यता छ ।आकस्मिक बिरामी भएमा साविक जोखिम र जुबुका बासिन्दाले हेलिकप्टरकै प्रयोग गर्छन् ।

कतिपयले खर्च अभावकै कारण घरैमा प्रसूति गराउने हुँदा अकालमै आमा र शिशुको ज्यान जाने गरेकाले गाउँपालिकाले प्रोत्साहन भत्ता प्रदान गरेको अध्यक्ष राईको भनाइ छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *