मन्त्री फेरिएसंगै स्वास्थ्यको नीति निर्धारण समिति पनि फेरियो

1.4k
Shares

काठमाडौँ, १३ कात्तिक । मन्त्री फेरिएसंगै स्वास्थ्यमा संघीय संरचना अनुसार स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय नीति निर्धारण समितिका पदाधिकारी पनि फेरिएका छन् ।

स्वास्थ्य मन्त्री दीपक बोहराले गत ५ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गर्र्दै समितिका पदाधिकारीहरु परिवर्तन गरेका हुन् ।

नयाँ समितिमा मन्त्री बोहोरा अध्यक्ष छन् भने उपाध्यक्षको जिम्मेबारी स्वास्थ्य सचिव डा किरण रेग्मीलाई दिइएको छ । सदस्यहरुमा पूर्व सचिवका तर्फबाट डा प्रविण मिश्र, पूर्व महानिर्देशक डा यशोबर्धन प्रधान रहेका छन् ।

अघिल्ला समितिमा सदस्य रहेका पूर्व प्रमुख विशेषज्ञ डा पदमबहादुर चन्द यसपटक पनि सदस्यमा अटाएका छन् । त्यस्तै परिवर्तित समितिका सदस्यहरुमा डा मधु दीक्षित देवकोटा, जनस्वास्थ्य प्रशासक अर्जुन बहादुर सिंह, आयुर्वेद विज्ञ डा ऋषिकान्त कोइराला रहेका छन् ।

नर्सिङ विज्ञको रुपमा गोमा निरौला र मनमोहन मेमोरियल हस्पिटलका डा रामप्रसाद श्रेष्ठ पनि सदस्यमा राखिएको छ । नयाँ समितिमा मन्त्रालय नीति योजना महाशाखा प्रमुखलाई सदस्यसचिवको जिम्मेबारी दिइएको छ ।

त्यसअघि संघीयता अनुसार स्वास्थ्य नीति बनाउन गत ५ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको थियो ।

सो समितिमा पूर्वराजदूत डा. महेश मास्केलाई कार्यकारी उपाध्यक्षको जिम्मेबारी दिइएको थियो । सो समितिमा पूर्व सचिव सेनेन्द्रराज उप्रेती, जनस्वास्थ्य विज्ञ डा बद्रीराज पाण्डे पूर्व प्रमुख विशेषज्ञ डा पदमबहादुर चन्द, आइओएमका प्राडा सरद वन्त, प्राडा वाईपीसिंह, नर्सिङका तर्फबाट दयालक्ष्मी बैद्य, आयुर्वेदका तर्फबाट विभागका महानिर्देशक डा बासुदेव पाण्डे, र सदस्य सचिवको रुपमा स्वास्थ्य सचिव डा रेग्मी रहेकी थिइन ।

मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरीले नयाँ मन्त्रीको अध्यक्षतामा गठित नयाँ समितिको पहिलो बैठक हिजो भएको बताउँदै अघिल्लो समितिले बुझाएको मस्यौदाको विषयमा अध्ययन गरी त्यसलाई परिमार्जन गरी अघि बढाउने निर्णय भएको बताए ।

अघिल्लो समितिले बनाएको मस्यौदा अहिले सार्वजनिक भईसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *