चिकित्सक संघद्धारा काठमाडौँ नेशनलको सम्वन्धन खारेज गर्न माग

काठमाडौँ, १० भदौ । नेपाल चिकित्सक संघले काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिइएको सम्वन्धन खारेज गर्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सम्वन्धन दिने निर्णय यथाशिघ्र खारेज गर्न माग गरेको छ ।

संघका महासचिव डा लोचन कार्कीद्धारा जारी विज्ञप्तीमा विगतमा आफूहरुसंग भएको सम्झौता विपरित सरकारले विवादास्पद सम्वन्धन दिएको भन्दै अहिलेसम्म गरिएको ध्यानाकर्षणले समेत काम नगरेको उल्लेख छ ।

संघले आगामी सोमबारबाट हरेक चिकित्सकहरुलाई हातमा कालोपट्टी बाधेर काममा लाग्न आवहान समेत गरेको छ । साथै उसले आफूहरुको मागलाई वेवास्ता गरिएर सेवा नै बन्द गर्नेसम्मको कार्यक्रम अघि सार्ने समेत चेतावनी दिएको छ ।

आन्दोलनका कार्यक्रममा संघले प्रधानमन्त्री शिक्षामन्त्री स्वास्थ्यमन्त्री त्रिवि पदाधिकारीहरुलाई ज्ञापनपत्र बुझाउने तथा इन्सपेक्सनमा गएका अधिकारीहरुसंग छलफल गर्ने सम्मको कार्यक्रम अघि सारेको छ ।

हेरौँ विज्ञप्ती

आज मिति २०७४ भदौ १० गते संघको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णय बमोजिम चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनका लागि नेपाल चिकित्सक संघले संचालन गरेका विभिन्न आन्दोलनमा नेपाल सरकार र ने.चि.संघ बीच भएको सम्झौता विपरित नेपाल सरकारबाट हालै प्रदान गरिएको विवादास्पद सम्बन्धनप्रति घोर आपत्ति प्रकट गर्दै यथासिघ्र उक्त सम्बन्धन खारेज गर्न नेपाल सरकारको पटक पटक ध्यानाकर्षण गराउदा समेत आजको मिति सम्म कुनै चाँसो नदेखाइएका कारण देशभर आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।

आन्दोलनका कार्यक्रमहरु
१) सम्माननीय प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री त्रिभुवन विश्व विद्यालय, नेपाल मेडिकल काउन्सिल लगायतका सरोकारवाला निकायहरुलाई ज्ञापन पत्र बुझाउने,

२) हालको विवादास्पद सम्बन्धनका बिषयमा Inspection मा गएका सम्लग्न चिकित्सकहरुसँग नेपाल चिकित्सक संघको कार्यालयमा विस्तृत छलफल गर्ने,

३) शान्ति र लोकतन्त्रका लागिक पेशागत सञ्जाल (पापड)आबद्ध संघ संस्थाहरुसँग अहिलेको वर्तमान अवस्था र संघले संचालन गर्ने विभिन्न आन्दोलनका सम्बन्धमा विस्तृत छलफल गर्दै आन्दोलनलाई निर्णायक बनाउन पहल गर्ने,

४) मिति २०७४ भाद्र १२ गतेबाट अर्को निर्णय नभए सम्मका लागि देशभरका सम्पूर्ण सरकारी, निजी तथा प्राइभेट स्वास्थ्य संस्थामा कालोपट्टि बाँधी नियमित कार्य गर्ने,

५) संघका सम्पूर्ण शाखा कार्यालयहरुले आ आफ्नो जिल्लामा भेला भई विरोध स्वरुप सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने,

हाम्रो यस आन्दोलनप्रति नर्सिङ, स्वास्थ्यकर्मी, नागरिक समाज, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड), मानव अधिकार आयोग तथा संघ संगठनहरु, पत्रकार तथा सम्पूर्ण बुद्धिजीविहरुलाई ऐक्यबद्धताको लागि हार्दिक अपिल गर्दछौ । साथै शान्तिपूर्ण तवरबाट संचालन गरिने आन्दोलनलाई बेवास्ता गरेको खण्डमा बन्द लगायतका कार्यक्रमको घोषणा गर्न बाध्यहुने र सोबाट आम सर्व साधारणहरुमा पर्न जाने असुुविधाप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ ।

 डा. लोचन कार्की

महासचिव

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *